पोर्चुगल — सन् २०२६ को सुरुवातसँगै नेपालको पर्यटन क्षेत्रमा युरोपेली मुलुकहरूको योगदान उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्ड तथा अध्यागमन विभागको तथ्याङ्क अनुसार अङ्ग्रेजी वर्षको पहिलो महिना जनवरीमा युरोपेली मुलुक पोर्चुगलबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्यामा गत वर्षको तुलनामा वृद्धि भएको पाइएको छ ।
सन् २०२६ को जनवरी महिनामा मात्रै पोर्चुगलबाट ५२७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा सकारात्मक सुधार हो । तथ्याङ्क अनुसार गत वर्ष अर्थात् सन् २०२५ को जनवरीमा पोर्चुगलबाट ३९५ जना पर्यटक नेपाल भित्रिएका थिए । एक वर्षको अन्तरालमा पोर्चुगलली पर्यटकको आगमनमा देखिएको यो बढोत्तरीले नेपालको पर्यटन बजारमा पोर्चुगल एक उदाउँदो स्रोत मुलुक बन्न सक्ने सङ्केत गरेको छ ।
पोर्चुगल बाहेक अन्य युरोपेली मुलुकहरूबाट पनि जनवरी महिनामा उल्लेख्य सङ्ख्यामा पर्यटकहरू नेपाल आएका छन् । विशेषगरी फ्रान्सबाट सबैभन्दा धेरै ९२४ जना पर्यटक भित्रिँदा स्पेनबाट ४९२ जनाले नेपाल भ्रमण गरेका छन् ।
त्यसैगरी बेल्जियमबाट ३६७, डेनमार्कबाट २६५, अस्ट्रियाबाट २३०, फिनल्याण्डबाट १५५ र चेक रिपब्लिकबाट ९७ जना पर्यटकहरू यसै महिना नेपाल भित्रिएको तथ्याङ्कले देखाएको छ । समग्रमा युरोपेली मुलुकहरूबाट भइरहेको यो आगमनले सन् २०२६ नेपालको पर्यटन क्षेत्रका लागि सुखद रहने अपेक्षा गरिएको छ ।





