Home Login
प्रवास

रास्वपा प्रवास नेपाली सम्पर्क विभाग पोर्चुगलद्वारा काल्दास दि रैनामा उपसमिति गठन

लिस्बन (पोर्चुगल) —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, पोर्चुगलले आफ्नो साङ्गठनिक विस्तारलाई तीव्रता दिँदै काल्दास दि रैना क्षेत्रमा नयाँ उपसमिति गठन गरेको छ । हालै आयोजित एक विशेष भेलाले सन्जय कुमार महत्तोको संयोजकत्वमा ९ सदस्यीय उपसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्दै नेपालको समसामयिक राजनीति र परिवर्तनको एजेन्डामा जोड्ने उद्देश्यका साथ यो भेला आयोजना गरिएको थियो ।

सरोज यादवको संयोजनमा सम्पन्न भएको उक्त भेलाले समितिको कार्यविभाजन समेत टुङ्ग्याएको छ । जसअनुसार उप-संयोजकमा बलबहादुर परियार, सचिवमा राजेश जङ्ग ठकुरी र कोषाध्यक्षमा कञ्चन लामा चयन हुनुभएको छ । समितिका सदस्यहरूमा पदमराज गुरुङ, अम्बिका पाण्डे, अम्बिका थापा, एन्जिला कुँवर र सरोज लामा तामाङ रहनुभएको छ । नवनिर्वाचित कार्यसमितिले स्थानीय क्षेत्रमा रहेका नेपाली समुदायका समस्या र पार्टीको एजेन्डालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग, पोर्चुगलका संयोजक नरफगामी मगरको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी अतिथिका रूपमा सीता सुवेदी ढकाल, उमेश खड्का र गोविन्द पोखरेलको उपस्थिति रहेको थियो । सहभागीहरूले नेपालमा पछिल्लो समय विकसित भएको ‘जेन्जी’ आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल गरेका थिए । विदेशमा रहे पनि नेपालको राजनीतिक परिवर्तन र नयाँ पुस्ताले देखाएको सक्रियताप्रति सहभागीहरूले उत्साह व्यक्त गर्दै अबको राजनीति विचार र डेलिभरीमा आधारित हुनुपर्नेमा जोड दिएका थिए ।

प्रवास नेपाली सम्पर्क विभाग पोर्चुगलका सचिव शिवराज कँडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा परिचयका साथै वैचारिक विमर्श समेत गरिएको थियो । सोही अवसरमा रास्वपाको अभियान र कार्यशैलीप्रति ऐक्यबद्धता जनाउँदै करिब २० जना नेपालीहरूले पार्टीको सदस्यता समेत ग्रहण गर्नुभएको छ ।

पोर्चुगलका विभिन्न सहरहरूमा रास्वपाको बढ्दो प्रभाव र साङ्गठनिक सक्रियताले प्रवासमा रहेका नेपालीहरूमा पनि वैकल्पिक राजनीतिको आशा जगाएको कार्यक्रमका वक्ताहरूले बताएका थिए ।

Leave a Reply