लिस्बन (पोर्चुगल) — प्रवासमा रहेर पनि आफ्नो मौलिक परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ तामाङ समाज पोर्चुगलले मञ्जुश्री संवत् २८६२ को अवसरमा ‘सोनाम ल्होछार’ भव्यताका साथ सम्पन्न गरेको छ ।
आइतबार, २५ जनवरी २०२६ मा लिस्बनमा आयोजित उक्त कार्यक्रममा शुभकामना आदानप्रदानका साथै बृहत् सांस्कृतिक प्रस्तुतिहरू मार्फत नेपाली कला र पहिचानको प्रदर्शन गरियो ।
तामाङ समाज पोर्चुगलका अध्यक्ष कुमारसिंह बल तामाङको सभापतित्वमा सम्पन्न उक्त औपचारिक समारोहको प्रमुख आतिथ्यता नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगरले गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवात लामा गुरुहरूद्वारा धार्मिक विधिपूर्वक पूजा–आजा र प्रसाद वितरणबाट गरिएको थियो । समाजका महासचिव मीन तामाङले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पोर्चुगलस्थित विभिन्न सामाजिक, राजनीतिक तथा जातीय संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
विशेष अतिथिहरूका रूपमा पूर्व पर्यटनदूत रमेशकुमार गुरुङ, एनआरएनए पोर्चुगलका अध्यक्ष बमबहादुर जिसी, विभिन्न मातृसंस्थाका प्रमुखहरू र समुदायका अगुवाहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । वक्ताहरूले सात समुद्र पारि रहेर पनि आफ्नो भाषा, भेषभूषा र मौलिक संस्कृतिको संरक्षणमा तामाङ समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै यस्ता कार्यक्रमले प्रवासमा नेपालीहरूबीच आपसी सद्भाव र एकता कायम राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
औपचारिक सत्रको समापनपछि लिस्बनको ‘आओ भिभु’ हलमा आयोजित सांस्कृतिक साँझ विशेष आकर्षणको केन्द्र बन्यो । बेलुका सात बजेदेखि मध्यरात दुई बजेसम्म चलेको उक्त सांगीतिक कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकार निर्मला घिसिङ र आयरल्यान्डबाट आउनुभएका अभिनाश घिसिङको बेजोड प्रस्तुतिले हल गुञ्जायमान बनेको थियो ।
स्थानीय कलाकारहरू राम बाबु योन्जन, कुन्साङ वाईबा, पुष्पा वाइबा लगायतको स्वर र बन्दना लामा, टुइङकल लामा लगायतको नृत्यले दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो । तामाङ सेलो र मेङ्ग्दोमायाका भाकाहरूमा सहभागीहरू झुमेका थिए भने मौलिक तामाङ भेषभूषामा सजिएका सहभागीहरूले कार्यक्रम स्थललाई ‘मिनी नेपाल’ जस्तै बनाएका थिए ।
रोजगारी र अध्ययनको सिलसिलामा पोर्चुगलमा रहेका नेपालीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो । कार्यक्रमको अन्त्यमा आयोजक तथा सहभागीहरूले यो उत्सवले केवल मनोरञ्जन मात्र नभई नेपाली मौलिक संस्कृतिको अन्तर्राष्ट्रिय प्रवद्र्धन र समुदायबीचको भाइचारालाई अझ प्रगाढ बनाएको महसुस गरेका छन् ।





