Home Login
नेपाली राजदूतावास लिस्बन

पोर्चुगलमा रहेका नेपालीहरुका लागि राहदानी सम्बन्धी जरुरी सूचना

पोर्चुगल (लिस्बन) — लिस्बनस्थित नेपाली राजदूतावासले पोर्चुगलमा बसोबास गर्ने नेपाली नागरिकहरूका लागि विद्युतीय राहदानी (ई-पासपोर्ट) आवेदन सम्बन्धी एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । सूचना अनुसार, आगामी नोभेम्बर २०२५ को पहिलो हप्ताका लागि चाहिने राहदानी नवीकरणको अनलाइन आवेदन आज, १७ अक्टोबर २०२५, शुक्रबार साँझ ५ बजेदेखि खुला गरिने भएको छ ।

यो व्यवस्था विशेष गरी राहदानीको म्याद ६ महिनाभन्दा कम समय बाँकी रहेका आवेदकहरूका लागि लक्षित गरिएको हो । दूतावासले यस्ता आवेदकहरूलाई समयमै आफ्नो राहदानी नवीकरण प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।

राहदानीका लागि आवेदन दिन चाहने व्यक्तिहरूले निम्न प्रक्रिया पूरा गर्नुपर्नेछ :

१. अनलाइन फाराम : सबैभन्दा पहिले, नेपाल सरकारको राहदानी विभागको आधिकारिक वेबसाइट https://emrtds.nepalpassport.gov.np/मा गएर विद्युतीय राहदानीको अनलाइन आवेदन फाराम भर्नुपर्नेछ ।

२. प्रिन्ट आउट : अनलाइन फाराम भरिसकेपछि त्यसको प्रिन्ट आउट अनिवार्य रूपमा लिनुपर्नेछ ।

३. बायोमेट्रिक्सका लागि दूतावासमा उपस्थिति : आवेदकहरूले आफूले अनलाइन प्रणालीबाट पाएको मिति र समयमा बायोमेट्रिक्स (फोटो खिच्ने र औंठाछाप दिने) का लागि लिस्बनस्थित राजदूतावासको कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।

बायोमेट्रिक्सका लागि दूतावास जाँदा आवेदकहरूले निम्न कागजातहरू अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ :

वयस्कका लागि :

– अनलाइन भरेको राहदानी फारामको प्रिन्ट आउट
– सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि
– सक्कल पुरानो राहदानी (म्याद सकिन लागेको) र त्यसको प्रतिलिपि

नाबालकका लागि : नाबालकहरूको हकमा माथि उल्लेखित कागजातका अतिरिक्त निम्न कागजातहरू पनि आवश्यक पर्नेछ :

– नाबालक परिचय पत्र
– नेपालमा दर्ता भएको जन्मदर्ता प्रमाणपत्र
– बुबा र आमा दुवैको सक्कल नागरिकता र राहदानी
– बुबा र आमाको विवाह दर्ता प्रमाणपत्र

अनलाइन अपोइन्टमेन्ट : राहदानी आवेदनका लागि अपोइन्टमेन्टहरू निश्चित समयमा मात्र खुला गरिने हुँदा, यदि तत्काल बुक गर्न नसकिएमा धैर्यताका साथ अर्को सूचनाको प्रतिक्षा गर्न दूतावासले सबैमा अनुरोध गरेको छ ।

थप जानकारी : राहदानी आवेदनसम्बन्धी थप जानकारीका लागि राजदूतावासको आधिकारिक वेबसाइट https://pt.nepalembassy.gov.np/pages/passport-service-4/ हेर्न सकिनेछ ।

राजदूतावासको ठेगाना र सेवा समय :

– ठेगाना : Rua Pero de Alenquer 29, 1400-293, Lisboa, Portugal
– कन्सुलर सेवा : कार्यालय खुलेको दिन बिहान ९:१५ देखि दिउँसो १:१५ सम्म
– राहदानी वितरण तथा सोधपुछ : दिउँसो २ बजेपछि
– ईमेल : eonlisbon@gmail.com
– टेलिफोन : 213011308

राजदूतावासले सबै आवेदकहरूलाई आवश्यक कागजातहरू पूर्ण रूपमा तयार पारेर, तोकिएको समयमा मात्र कार्यालयमा आउन सूचित गरेको छ ताकि सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन सकियोस् ।

Leave a Reply