Home Login
चलचित्र

हेलसिन्कीमा चलचित्र ‘परान’ को क्रेज बढ्यो : अत्यधिक मागपछि दुई विशेष शो थप

हेलसिन्की, फिनल्याण्ड — फिनल्याण्डको राजधानी हेलसिन्कीमा नेपाली चलचित्र ‘परान’ प्रति दर्शकहरूको आकर्षण ह्वात्तै बढेको छ । नोभेम्बर २३ र २४ तारिखमा प्रदर्शन गरिएको शोमा दर्शकहरूको व्यापक उपस्थिति र उत्साहजनक प्रतिक्रियापछि आयोजकले दर्शकहरूको मागलाई मध्यनजर गर्दै थप दुई शोको घोषणा गरेको छ ।

अत्यधिक मागका कारण ‘किनो मायरी – मायर्मेकी’ (Kino Myyri – Myyrmäki) मा चलचित्रको पुनः प्रदर्शन हुने तय भएको हो । आयोजक ‘मामा ईभेन्ट्स’ का अनुसार टिकट बुकिङ हाल खुला भइसकेको छ ।

दर्शकहरूको सुविधाका लागि निम्न दुई मिति र समयमा नयाँ शोहरू थप गरिएको छ ।

मिती : नोभेम्बर २८, शुक्रबार
समय : बेलुकी ७:०० बजे
मिती : नोभेम्बर ३०, आइतबार
समय : दिउँसो १२:४५ बजे
स्थान : Kino Myyri – Myyrmäki, Helsinki

चलचित्र हेर्न आउने परिवारलाई सहजता प्रदान गर्न आयोजकले विशेष व्यवस्था गरेको छ । ४ वर्ष वा सोभन्दा माथिका बालबालिकाहरूलाई निःशुल्क प्रवेश दिइनेछ । यद्यपि, निःशुल्क प्रवेश पाउने बालबालिकाहरूका लागि छुट्टै सिट आरक्षण भने हुनेछैन ।

युरोपमा लामो समयदेखि नेपाली चलचित्र, सांगीतिक कार्यक्रम र विभिन्न सांस्कृतिक गतिविधिहरू सफलतापूर्वक आयोजना गर्दै आएको ‘मामा ईभेन्ट्स’ ले यस पटक ‘परान’ को सम्पूर्ण व्यवस्थापन गरेको हो ।

“नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौँ” भन्ने मूल नाराका साथ अघि बढेको मामा ईभेन्ट्सले प्रवासमा नेपाली चलचित्रको बजार विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । पहिलो चरणको प्रदर्शन (नोभेम्बर २३ र २४) मा हलमा देखिएको दर्शकहरूको खचाखच उपस्थितिले फिनल्याण्डमा नेपाली चलचित्रको भविष्य उज्ज्वल रहेको संकेत गरेको छ ।

‘परान’ नेपालमा गत कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको एक पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित चलचित्र हो । यसले नेपाली समाजको मौलिक कथा, भावनात्मक सम्बन्ध र पारिवारिक परिवेशलाई पर्दामा उतारेको छ । विदेशमा रहेर पनि आफ्नो माटोको कथा हेर्न चाहने दर्शकहरूका लागि यो चलचित्रले एउटा विशेष अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply