ब्रसेल्स — युरोपेली संघ (ईयु) ले आफ्ना नागरिकहरूको सुरक्षा र सुविधालाई ध्यानमा राख्दै हिजो मङ्गलबार, ९ डिसेम्बरदेखि नयाँ र आधुनिक ‘आपतकालीन यात्रा कागजात’ औपचारिक रूपमा प्रचलनमा ल्याएको छ । यो नयाँ व्यवस्थासँगै अब युरोपेली संघभन्दा बाहिरको देशमा यात्रा गर्दा राहदानी हराएका, चोरी भएका वा कुनै कारणले नष्ट भएका ईयू नागरिकहरूलाई स्वदेश फर्कन पहिलेभन्दा निकै सहज, सुरक्षित र छिटो हुने भएको छ ।
विदेश भ्रमणको क्रममा आफ्नो राहदानी हराउनु वा चोरी हुनु कुनै पनि यात्रुका लागि निकै तनावपूर्ण र कठिन अनुभव हुन सक्छ। अझ आफू पुगेको देशमा आफ्नो देशको दूतावास वा वाणिज्य दूतावास नहुँदा यो समस्या झन् जटिल बन्न जान्छ । यस्तो अवस्थालाई सम्बोधन गर्न युरोपेली संघले यो विशेष व्यवस्था मिलाएको हो । नयाँ नियम अनुसार, यदि कुनै ईयू नागरिक यस्तो देशमा अलपत्र पर्छन् जहाँ उनीहरूको आफ्नो देशको कूटनीतिक नियोग छैन भने, उनीहरूले ‘कन्सुलर प्रोटेक्सन’ को अधिकार अन्तर्गत त्यहाँ उपस्थित अन्य कुनै पनि ईयू सदस्य राष्ट्रको दूतावास वा वाणिज्य दूतावासबाट सहयोग लिन सक्नेछन् ।
आजदेखि लागु भएको यो नयाँ आपतकालीन यात्रा कागजातले सन् १९९६ देखि प्रचलनमा रहेको पुरानो कागजातलाई विस्थापन गरेको छ । यस नयाँ कागजातलाई आधुनिक सुरक्षा मापदण्ड अनुसार तयार पारिएको छ । यसमा उच्च स्तरका सुरक्षा विशेषताहरू समावेश गरिएको छ, जसले गर्दा यसको नक्कली बनाउने वा दुरुपयोग हुने सम्भावना रहँदैन । यो मेसिन–रिडेबल हुनुका साथै यसमा बाहकको तस्बिर र अन्य विवरणहरू स्पष्ट रूपमा समावेश हुन्छन्, जसले सीमा नाकाहरूमा जाँचको प्रक्रियालाई छिटो र विश्वसनीय बनाउँछ ।
यो आपतकालीन कागजात विशेष गरी एकतर्फी यात्राका लागि जारी गरिन्छ, जसको मुख्य उद्देश्य अलपत्र परेका नागरिकलाई सुरक्षित रूपमा आफ्नो देश वा बसोबास गर्ने ईयू राष्ट्रसम्म पुर्याउनु हो । सामान्यतया यो कागजात जारी गर्न ३ देखि ४ कार्यदिन लाग्न सक्छ, तर अति आवश्यक र आपतकालीन परिस्थितिमा यो प्रक्रियालाई अझ द्रुत गतिमा अघि बढाउन सकिने व्यवस्था पनि मिलाइएको छ । यसले यात्रुहरूलाई लामो समयसम्म विदेशी भूमिमा अलपत्र पर्नुपर्ने बाध्यताबाट मुक्ति दिने अपेक्षा गरिएको छ ।
युरोपेली संघको यो कदमलाई आफ्ना नागरिकहरूप्रतिको दायित्व र कन्सुलर सुरक्षाको एक उत्कृष्ट उदाहरणको रूपमा लिइएको छ । यसले ईयूका नागरिकहरूलाई विश्वको जुनसुकै कुनामा पुगे पनि, यदि त्यहाँ कुनै एक ईयू राष्ट्रको प्रतिनिधित्व छ भने, उनीहरू सुरक्षित छन् र एक्लो छैनन् भन्ने सन्देश प्रवाह गरेको छ । संघले यसलाई ‘ईयू नागरिक हुनुको व्यावहारिक सुरक्षा’ को संज्ञा दिँदै यसले अन्तर्राष्ट्रिय यात्रालाई थप सुरक्षित र तनावमुक्त बनाउने विश्वास व्यक्त गरेको छ ।





