Home Login
प्रवास

सन् २०२५ मा विश्वभर १ सय २८ पत्रकारको ह¥त्या : प्रेस स्वतन्त्रतामाथि भयानक प्रहार

ब्रसेल्स — विश्वभरका पत्रकारहरूको छाता सङ्गठन इन्टरनेसनल फेडेरेसन अफ जर्नलिस्ट्स (IFJ) ले सन् २०२५ मा मारिएका पत्रकार तथा मिडिया पेशेवरहरूको अन्तिम सूची सार्वजनिक गरेको छ, जसको नतिजा अत्यन्तै दुःखद र भयानक देखिएको छ ।

सार्वजनिक तथ्याङ्क अनुसार, बीतेको वर्ष विश्वभर कुल १ सय २८ जना पत्रकार तथा सञ्चारकर्मीले आफ्नो ज्यान गुमाएका छन् । यो तथ्याङ्कले पेसागत धर्म निर्वाह गर्ने क्रममा पत्रकारहरू कति असुरक्षित छन् भन्ने कुरालाई उजागर गरेको छ । मारिनेहरूको सूचीमा १० जना महिला पत्रकारहरू समेत रहेका छन् भने ९ जनाको मृत्यु विभिन्न दुर्घटनामा भएको जनाइएको छ ।

प्रतिवेदन अनुसार लगातार तेस्रो वर्ष पनि मध्य पूर्व र अरब विश्व सञ्चारकर्मीहरूका लागि ‘मृत्युको मैदान’ सावित भएको छ । विश्वभर भएका कुल पत्रकार हत्याका घटनाहरूको ५८ प्रतिशत हिस्सा यही क्षेत्रले ओगटेको छ । देशगत रूपमा तथ्याङ्क हेर्दा प्यालेस्टाइन पत्रकारहरूका लागि यस वर्ष पनि सबैभन्दा घातक राष्ट्र बनेको छ, जहाँ द्वन्द्व र हिंसाका बीच ५६ जना पत्रकारले ज्यान गुमाएका छन् । त्यसैगरी, यमनमा १३ जना र युक्रेनमा ८ जना सञ्चारकर्मी मारिएका छन्, जसले द्वन्द्वग्रस्त क्षेत्रमा सत्यतथ्य सूचना प्रवाह गर्नु कति जोखिमपूर्ण छ भन्ने पुष्टि गर्दछ ।

आईएफजेका महासचिव एन्थोनी बेलाङ्गरले यो डरलाग्दो तथ्याङ्कमाथि गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई केवल अङ्कगणित मात्र नभई एक ‘विश्वव्यापी संकट’ को संज्ञा दिएका छन् । उनले एकै वर्षमा १ सय २८ जना सहकर्मी गुमाउनु सामान्य विषय नभएको बताउँदै भनेका छन्, “यी मृत्युहरूले हामीलाई यो क्रूर यथार्थको सम्झना गराउँछन् कि पत्रकारहरूलाई उनीहरूको काम गरेकै कारण दण्डहीनताका साथ निशाना बनाइँदैछ।” उनका अनुसार यी हत्याहरूले पत्रकारहरूको सुरक्षा गर्न राज्य र सम्बन्धित निकायहरूको प्रणालीगत असफलतालाई छर्लङ्ग पारेको छ ।

सञ्चार जगतमा बढ्दो हिंसा र दण्डहीनताको निरन्तर चक्रलाई तोड्न आईएफजेले विश्व समुदायसँग तत्काल कडा कदम चाल्न आह्वान गरेको छ । महासंघले मिडियाकर्मीहरूको सुरक्षा गर्न, हत्याराहरूलाई न्यायको कठघरामा ल्याउन र विश्वव्यापी प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गरेको छ । विशेष गरी, पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको ग्यारेन्टी गर्ने ‘संयुक्त राष्ट्रसंघीय महासन्धि’ (UN Convention) को आवश्यकतामा जोड दिइएको छ ।

आईएफजेले उक्त महासन्धिको मस्यौदा पाठ तयार अवस्थामा रहेको जानकारी दिँदै अब विश्वका सरकारहरूले त्यसलाई समर्थन र अनुमोदन गर्ने समय आएको बताएको छ ।

Leave a Reply