पोर्चुगल — नेपालमा आगामी माघ १ गते (तदनुसार जनवरी १५ तारिख) देखि प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘गोबर गणेश’ अब युरोपका विभिन्न देशहरूमा पनि भव्य रूपमा प्रदर्शन हुने भएको छ ।
चर्चित हाँस्य कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन रहेको यो चलचित्रलाई युरोपमा ‘मामा ईभेन्ट्स’ र ‘गुरुङ केएनएस ईन्टरटेन्मेन्ट’ ले संयुक्त रूपमा प्रदर्शन गर्न लागेका हुन् ।
कमेडी र सामाजिक कथावस्तुमा आधारित यस चलचित्रमा निर्देशक स्वयं ‘बल्छी धुर्वे’ को साथमा चर्चित नायिका वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको छ । चलचित्रमा कलाकारहरूको जम्बो टोली नै समेटिएको छ, जसमा बुद्धि तामाङ, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछाने लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिनेछ ।
‘नेपाली भाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौँ’ भन्ने मूल उदेश्यका साथ स्थापना भएका मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले विगतदेखि नै युरोपका विभिन्न राष्ट्रहरूमा नेपाली चलचित्र प्रदर्शन तथा सांगीतिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन् । यसपटक ‘गोबर गणेश’ को आधिकारिक युरोप वितरकको जिम्मा पनि यिनै संस्थाहरूले लिएका छन् । चलचित्रको युरोप प्रदर्शनमा ‘केन्द्र मोशन पिक्चर्स’ ले प्रमुख प्रायोजकको भूमिका निर्वाह गरेको छ ।
त्यसैगरी, मिडिया पार्टनरको रूपमा युरोपबाट प्रकाशित हुने अनलाइन पत्रिका ‘युरोपाटी’ र नेपालको ‘मेरो अनलाइन टिभी’ ले साथ दिएका छन् ।
युरोप प्रदर्शनको संयोजन गरिरहेका गुरुङ केएनएस ईन्टरटेन्मेन्टका सञ्चालक किरण गुरुङका अनुसार, युरोपका विभिन्न देश तथा शहरहरूमा यो चलचित्र प्रदर्शन गर्न चाहने स्थानीय संघ-संस्था वा व्यक्तिहरूले मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टसँग सिधा सम्पर्क गर्न सक्नेछन् । यद्यपि, आयोजक पक्षले युरोपका कुन-कुन देशमा र कुन मितिदेखि शोहरू सुरु हुनेछन् भन्ने आधिकारिक तालिका भने सार्वजनिक गरिसकेको छैन । यससम्बन्धी विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बताइएको छ ।
चलचित्र प्रदर्शनसँगै यो आयोजक समूहले नेपाली सांगीतिक क्षेत्रलाई पनि युरोपमा प्रवर्द्धन गर्ने तयारी गरेको छ । सोही योजना अनुरूप, चर्चित गायक सुजन चापागाईं र उनको ब्याण्ड ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ लाई समेत सांगीतिक टुरका लागि युरोप ल्याउने तयारी भइरहेको आयोजकले जनाएको छ ।






