कुवेत — ‘सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सुदूरपश्चिमेली नेपाली समाज, कुवेतले आफ्नो पाँचौँ अधिवेशन भव्य रूपमा आयोजना गर्ने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाएका सुदूरपश्चिमेलीहरूको साझा संस्थाको रूपमा स्थापित यस समाजको अधिवेशन आगामी सन् २०२६ जनवरी २३ तारिख, शुक्रबारका दिन हुने तय भएको हो ।
खैतानस्थित राजधानी होटलको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने यस अधिवेशनले प्रवासमा रहेका सुदूरपश्चिमेलीहरूलाई पुनः एकपटक एकताको सूत्रमा बाँध्ने विश्वास लिइएको छ । स्थापनाकालदेखि नै सुदूरपश्चिमका विभिन्न जिल्लाबाट कुवेत आएका नेपालीहरूबीच भाइचारा अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक तथा मानवसेवामूलक कार्यमा सक्रिय रहँदै आएको समाजले यस अधिवेशनलाई विशेष महत्वका साथ हेरेको छ ।
पाँचौँ अधिवेशनको मुख्य उद्देश्य संस्थाको सांगठनिक सुदृढीकरण र भावी कार्यदिशा तय गर्नु रहेको छ । कार्यक्रममा समाजले विगतमा गरेका कार्यहरूको समीक्षा गर्नुका साथै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया समेत अगाडि बढाइनेछ । समाजलाई थप गतिशील, पारदर्शी र सेवामुखी बनाउन कस्तो रणनीति अपनाउने भन्ने विषयमा अधिवेशनमा गहन छलफल हुने आयोजकले जानकारी दिएको छ ।
आयोजक संस्थाले यस ऐतिहासिक कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न कुवेतमा बसोबास गर्ने सम्पूर्ण सुदूरपश्चिमेली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ । प्रवासको व्यस्तताका बाबजुद पनि आफ्नो समुदायको कार्यक्रममा सहभागी भई हौसला प्रदान गरिदिन समाजले विशेष अपिल गरेको छ ।
साथै, अधिवेशनमा आतिथ्यता ग्रहण गरिदिनका लागि कुवेतस्थित नेपाल सरकार निकट सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी वर्ग, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मी, खेलाडी, व्यापारी तथा कुवेतमा रहनुहुने सम्पूर्ण नेपाली समुदायलाई निमन्त्रणा गरिएको छ ।
प्रवासमा रहेर पनि आफ्नो कला, संस्कृति र अपनत्वको जगेर्ना गर्न कटिबद्ध सुदूरपश्चिमेली नेपाली समाजको यो अधिवेशनले कुवेतमा रहेका सम्पूर्ण नेपालीहरूबीचको एकतालाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।





