Home Login
नर्वे

मगर संघ नर्वेद्वारा ओस्लोमा माघेसक्रान्ति तथा सांस्कृतिक कार्यक्रम २०२६ सम्पन्न

ओस्लो (नर्वे) — मगर समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई प्रवासमै जगेर्ना गर्ने उद्देश्यसहित मगर संघ नर्वेको आयोजनामा “माघेसक्रान्ति तथा सांस्कृतिक कार्यक्रम २०२६” नर्वेको राजधानी ओस्लोमा जनवरी ११, २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा कार्यक्रमको औपचारिक उद्घाटनसँगै प्रमुख अतिथि तथा मगर संघका सम्माननीय व्यक्तित्वहरूले माघेसक्रान्ति पर्वको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पारेका थिए । उनीहरूले माघेसक्रान्ति के हो, किन र कसरी मनाइन्छ भन्ने विषयमा उपस्थित दर्शकलाई जानकारी गराएका थिए ।

कार्यक्रम स्थलमा प्रवेश गर्दा विदेशी भूमिमा भएको अनुभूति हुँदैनथ्यो । अधिकांश महिला तथा पुरुषहरू नेपाली राष्ट्रिय पहिरनमा सजिएका थिए भने मगर समुदायका सहभागीहरू आफ्नै मौलिक भेषभूषामा देखिन्थे । हलभित्रको वातावरणले नेपालकै झल्को दिएको थियो, जसले उपस्थित सबैमा नेपाली हुनुको गर्व महसुस गराएको थियो ।

कार्यक्रमको दोस्रो चरण सुरु हुँदा कार्यक्रम स्थल नेपाली दर्शकहरूले खचाखच भरिएको थियो । नर्वेमा रहेका कलाकारहरूले कौडा, घाटु, तामाङ सेलो, चुड्का लगायत नेपाली लोकसंस्कृतिमा आधारित नृत्य तथा गीत प्रस्तुत गरेका थिए । मगर समुदायमा अत्यन्त लोकप्रिय चुड्का नाच पहिलो पटक नर्वेमा प्रस्तुत हुँदा खैँजडीको तालले सम्पूर्ण हल गुञ्जायमान बनेको थियो। मौलिक भाका, भेषभूषा र नृत्यले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो ।

नेपालबाट आमन्त्रित कलाकारहरूको प्रस्तुति सुरु भएसँगै कार्यक्रम स्थलको माहोल झन् उत्साहपूर्ण बनेको थियो । दर्शकहरूको अत्यधिक उत्साहका कारण प्रमुख अतिथि तथा अतिथिहरूका कुर्सीसमेत हटाउन आयोजक बाध्य भएका थिए । चिसो मौसम एकाएक तातो उत्साहमा परिणत भएको थियो ।

पहिलो प्रस्तुति दिँदै शान्ति श्रीष मगरले आफ्ना चर्चित लोक भाका, सालैजो, कौडा तथा पञ्चेबाजा गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई नचाएकी थिइन् । त्यसपछि तृष्णा घर्ती मगरले आफ्नो सुमधुर आवाजमा ‘निरमाया’ लगायतका गीत प्रस्तुत गर्दा नेपालको बनपाखा, मेलापात र पानीपधेरोको झल्को नर्वेमै अनुभूत भएको थियो । जब उनी गीत गाउदै स्टेज झरिन त्यसपछीको माहोल धानीनसक्नु भयो । उपस्थित सबै नेपालीहरु उनकै तालमा नाच्न थाले । उनलाइ दर्शकदिर्घाबाट स्टेज जान हम्मे हम्मे भयो ।

उद्घोषकले स्याम रानाको नाम घोषणा गरेसँगै दर्शकहरूको हुटिङले हल नै गुञ्जायमान बनेको थियो। स्याम रानाको फरक लवज, पहिरन, बोली र नृत्यले सबैलाई आकर्षित गरेको थियो । उनका प्रत्येक प्रस्तुतीमा नाच्ने दर्शकहरूको भीड लागिरहेको देखिन्थ्यो ।

कार्यक्रमको अन्त्यमा नेपालबाट आएका तथा नर्वेमै रहेका कलाकारहरूबीच घम्साघम्सी दोहोरी चलेको थियो । सोही दोहोरीसँगै कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको थियो । दिउँसो ३ बजे सुरु भएको कार्यक्रम राति १० बजे समापन भएको थियो। समय बितेको पत्तै नपाइने गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रममा ४ सयभन्दा बढी नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply