लिस्बन (पोर्चुगल) — युरोपभरि फैलिएको खराब मौसम, विशेषगरी भारी हिमपात र चिसो हावाहुरीका कारण पोर्चुगलका राष्ट्रिय विमानस्थलहरूमा हवाई सेवा नराम्ररी प्रभावित भएको छ ।
प्रतिकूल मौसमका कारण लिस्बन र पोर्टोस्थित विमानस्थलहरूमा गरी हालसम्म ३० भन्दा बढी उडानहरू रद्द गरिएका छन्, जसका कारण सयौं यात्रुहरू मर्कामा परेका छन् ।
पोर्चुगलको मुख्य विमानस्थल लिस्बन र अर्को प्रमुख शहर पोर्टोबाट हुने अन्तर्राष्ट्रिय उडानहरूमा यो अवरोध देखिएको हो । रद्द गरिएका यी उडानहरू मुख्यतया युरोपका प्रमुख गन्तव्यहरू पेरिस (फ्रान्स), ब्रसेल्स (बेल्जियम) र एम्स्टर्डम (नेदरल्यान्ड्स) सँग सम्बन्धित छन् । यी शहरहरूबाट पोर्चुगल आउने र यहाँबाट त्यता प्रस्थान गर्ने दुवैतर्फका जडानहरू विच्छेद हुँदा नियमित हवाई तालिका अस्तव्यस्त बनेको छ ।
यो समस्या पोर्चुगलमा मात्र सीमित नभई सिंगो युरोपेली महादेशमा नै व्याप्त रहेको छ । महादेशभरि नै हिमपात र धावनमार्गमा जमेको बरफले उडानहरूलाई अवरुद्ध गरिरहेको छ, जसको प्रत्यक्ष असर हवाई सञ्जालमा परेको छ। खराब मौसमकै कारण युरोपभरि सयौं उडानहरू पहिले नै रद्द भइसकेका छन् भने हजारौं यात्रुहरू विभिन्न विमानस्थलमा अलपत्र परेका छन् ।
युरोपको प्रमुख ट्रान्जिट हब मानिने नेदरल्यान्ड्सको एम्स्टर्डमस्थित विमानस्थलमा मौसमको सबैभन्दा गम्भीर असर देखिएको छ, जहाँ करिब ६ सय उडानहरू निलम्बित गरिएका छन् । यसैगरी, फ्रान्सको राजधानी पेरिसका विमानस्थलहरूमा पनि १ सय ४० भन्दा बढी उडानहरू रद्द भइसकेका छन् । बेल्जियमको ब्रसेल्समा पनि उडान भर्नुपर्ने धेरै विमानहरू ग्राउन्डेड भएका छन् ।
मौसममा तत्काल सुधार आउने संकेत नदेखिएकाले रद्द हुने उडानको संख्या अझै बढ्न सक्ने र यात्रुहरूले थप सास्ती ब्यहोर्नुपर्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् ।





