Home Login
राजनीति

पोर्चुगलमा ‘श्रम संस्कृति पार्टी’ गठन ; विकास आलेको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति

लिस्बन (पोर्चुगल) — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको ‘श्रम संस्कृति पार्टी’ ले आफ्नो संगठनलाई युरोपेली मुलुक पोर्चुगलमा पनि विस्तार गरेको छ । ‘श्रम नै जीवन हो’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै आइतवार, ११ जनवरी २०२६ का दिन लिस्बनमा सम्पन्न एक विशेष भेलाले पोर्चुगल शाखाको विधिवत गठन गरेको हो ।

राजधानी लिस्बनको आरोइसस्थित मण्डला रेस्टुरेन्टमा आयोजित उक्त भेलामा पोर्चुगलमा रहेका नेपालीहरूको बाक्लो र उत्साहजनक उपस्थिति रहेको थियो । केवल लिस्बनमा बसोबास गर्ने नेपालीहरू मात्र नभई राजधानी बाहिरका विभिन्न स्थानबाट समेत उल्लेख्य संख्यामा नेपालीहरू भेलामा सहभागी भई श्रम अभियानप्रतिको आफ्नो ऐक्यबद्धता जाहेर गरेका थिए ।

उक्त भेलाले विकास आलेको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षहरूमा सुधा गुरुङ, सुरज भण्डारी र पेम्बा शेर्पा चयन हुनुभएको छ । यसैगरी, पार्टीको साङ्गठनिक जिम्मेवारी सम्हाल्ने गरी सचिव पदमा कृष्ण राईलाई चयन गरिएको छ भने सहसचिवको जिम्मेवारी सम्मा मगरले प्राप्त गर्नुभएको छ । समितिको आर्थिक पक्षको व्यवस्थापनका लागि कोषाध्यक्षमा सबिन बानिया र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न प्रवक्ताको रूपमा सिदाह गर्बुजालाई चयन गरिएको छ ।

‘हाम्रो धर्ती, हाम्रो आकाश, हाम्रै परिवेश – श्रम गरौं, सबै मिली, बनाऔं यो देश’ भन्ने मूल नाराका साथ अघि बढेको श्रम संस्कृति पार्टीले प्रवासमा रहेका नेपालीहरूलाई पनि श्रमको सम्मान र राष्ट्र निर्माणको अभियानमा जोड्ने लक्ष्य राखेको छ । मेयर हर्क साम्पाङको सादा जीवन र श्रमप्रतिको लगावबाट प्रभावित भएर पोर्चुगलमा रहेका नेपालीहरूले यो संगठन निर्माणमा सक्रियता देखाएका हुन् ।

नवगठित कार्यसमितिले पोर्चुगलमा रहेका नेपाली श्रमिकहरूको हकहितमा आवाज उठाउँदै नेपालमा श्रम संस्कृतिको विकासमा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रवासमा रहेर पनि आफ्नो देशको विकास र श्रमको सम्मानका लागि एकजुट हुन पाउँदा उपस्थित सहभागीहरूले खुशी व्यक्त गरेका थिए ।

Leave a Reply