पोर्चुगल — पोर्चुगलको मौसम विज्ञान संस्थान (IPMA) ले यस सप्ताहांत (डिसेम्बर १९ देखि २१ सम्म) को लागि विशेष बुलेटिन जारी गर्दै मौसममा उल्लेख्य परिवर्तन आउने जानकारी दिएको छ । आइसल्याण्ड र इबेरियन प्रायद्वीपको बीचमा विकास भएको विशाल न्यून-चापीय क्षेत्र र त्यससँग सम्बन्धित चिसो मोर्चाका कारण पोर्चुगलको मुख्य भूमिमा मौसम प्रतिकूल रहने अनुमान गरिएको छ । विशेषगरी डिसेम्बर २० को दिउँसोपछि ध्रुवीय समुद्री हावाको ठूलो हिस्सा प्रवेश गर्ने हुनाले चिसो अत्यधिक बढ्नेछ ।
शुक्रबार, डिसेम्बर १९ को बिहानैदेखि मौसममा बदलाव देखिनेछ । पश्चिमी तटीय क्षेत्रबाट सुरु भएर भित्री भागहरूतर्फ सर्दै जाने क्रममा कहिलेकाहीं भारी वर्षाको सम्भावना रहेको छ । यद्यपि, समय बित्दै जाँदा वर्षाको तीव्रता कम हुँदै जानेछ र दिउँसोसम्ममा यो हल्का र छिटपुट वर्षाको रूपमा पूर्वी सीमा नजिकका क्षेत्रहरूमा मात्र सीमित रहनेछ ।
मौसममा सबैभन्दा गम्भीर परिवर्तन भने शनिबार (डिसेम्बर २०) र आइतबार (डिसेम्बर २१) मा देखिनेछ। शनिबार बिहानैदेखि उत्तर र मध्य तटमा पुनः वर्षा सुरु हुनेछ, जुन दिनभरि देशका अन्य भागहरूमा पनि फैलिनेछ । यो समयमा उत्तर र मध्य क्षेत्रमा असिना पर्ने सम्भावना पनि रहेको छ । तापक्रममा आउने गिरावटका कारण १४०० देखि १६०० मिटरभन्दा माथिको उचाइमा सुरु हुने हिमपात, शनिबार दिउँसोपछि तीव्र रूपमा तल झर्ने अनुमान गरिएको छ। शनिबार साँझसम्म हिमपातको रेखा ८०० देखि १००० मिटरसम्म र आइतबारसम्म अझ तल झरेर ६०० मिटरसम्मका होचा पहाडी क्षेत्रहरूमा पनि हिउँ पर्न सक्नेछ ।
यस हिमपातको प्रभावले सेरा दा एस्ट्रेला, गेरेस, लारोको, अल्भाओ/माराओ र मोन्टेमुरो जस्ता प्रमुख पर्वतीय शृङ्खलाहरू सेताम्मे हुनेछन् । यी क्षेत्रहरूमा सामान्यतया ५ देखि १५ सेन्टिमिटरसम्म हिउँ जम्ने अनुमान गरिएको छ भने अग्ला चुचुराहरूमा २० देखि ३० सेन्टिमिटरभन्दा बढी बाक्लो हिउँ जम्न सक्नेछ । यस स्थितिलाई गम्भीरतापूर्वक लिँदै IPMA ले कास्टेलो ब्रान्को र गार्डाका लागि शुक्रबारदेखि नै र शनिबारदेखि एभेइरो, ब्रागा, ब्रागान्का, कोइम्ब्रा, पोर्टो, भियाना डो कास्टेलो र भिसेउ लगायतका जिल्लाहरूमा हिमपातको ‘यलो वार्निङ’ (पहेंलो चेतावनी) जारी गरेको छ ।
तापक्रमको कुरा गर्दा, उत्तर र मध्य क्षेत्रका भित्री भागहरूमा न्यूनतम तापक्रम ० डिग्री सेल्सियसको हाराहारी वा सोभन्दा तल रहनेछ, जसले गर्दा जनजीवन प्रभावित हुन सक्छ । अन्य क्षेत्रहरूमा भने तापक्रम केही बढी हुनेछ । अधिकतम तापक्रम १० देखि १६ डिग्री सेल्सियसको बीचमा रहने भए पनि उत्तर र मध्य क्षेत्रका पहाडी भागमा यो १० डिग्री सेल्सियसभन्दा कम नै रहनेछ । यस अत्यधिक चिसोका कारण उत्तर र मध्य क्षेत्रका उच्च भूभागका सडकहरूमा बरफ जम्ने (Ice formation) उच्च सम्भावना रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ ।
साथै, तटीय र उच्च पहाडी क्षेत्रहरूमा हावाको वेग बढ्नेछ । यहाँ ४० किलोमिटर प्रति घण्टासम्मको वेगमा हावा चल्ने र पश्चिमी तटमा समुद्र अशान्त रहने पूर्वानुमान छ । समुद्रमा उत्तरपश्चिमी दिशाबाट ४ देखि ६ मिटरसम्मका अग्ला छालहरू आउन सक्ने हुनाले तटीय गतिविधिहरूमा पनि जोखिम हुन सक्छ ।





