Home Login
प्रवास

युरोपका सबैभन्दा ‘घृणित’ देशहरूको सूचीमा जर्मनी शीर्ष ५ भित्र

जर्मनी — इनसाइडर मंकीले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार युरोपका सबैभन्दा ‘घृणित’ वा मन नपराइएका देशहरूको सूचीमा जर्मनीले शीर्ष पाँचभित्र स्थान बनाएको छ । विभिन्न सर्वेक्षण, अनलाइन फोरम र राजनीतिक तथा सामाजिक धारणाका आधारमा तयार पारिएको यो सूचीले युरोपभित्र र बाहिर रहेका मानिसहरूको देशप्रतिको धारणालाई उजागर गरेको छ ।

युरोपको आर्थिक ‘पावर हाउस’ मानिने जर्मनी यो नकारात्मक सूचीको पाँचौँ स्थानमा पर्नुले धेरैलाई आश्चर्यचकित बनाएको छ, यद्यपि यसका पछाडि ऐतिहासिक र समसामयिक राजनीतिक कारणहरू प्रमुख मानिएका छन् ।

सूचीको शीर्ष स्थानमा भने रुस रहेको छ । युक्रेनसँगको जारी युद्ध र भू-राजनीतिक तनावका कारण रुस युरोपकै सबैभन्दा धेरै घृणा गरिने राष्ट्र बनेको छ । दोस्रो स्थानमा बेलायत रहेको छ, जसलाई ब्रेक्जिट पछिको राजनीतिक अलगाव र ऐतिहासिक औपनिवेशिक अतीतका कारण धेरैले आलोचनात्मक दृष्टिकोणले हेर्ने गरेका छन् । यस्तै, युरोप र एसियाको संगमस्थल टर्की तेस्रो स्थानमा छ भने, आफ्नो भाषा र संस्कृतिको विषयमा केही हदसम्म ‘अहंकारी’ मानिने फ्रान्स चौथो स्थानमा समेटिएको छ ।

जर्मनीको हकमा भने, यो देश युरोपेली संघ (इयु) को सबैभन्दा शक्तिशाली राष्ट्र भएता पनि यसको कडा नियम कानुन, इतिहासको कालखण्ड र युरोपेली राजनीतिमा यसको अत्यधिक प्रभावका कारण आलोचित हुने गरेको छ । धेरैले जर्मनीलाई युरोपको आर्थिक मेरुदण्ड माने पनि, अन्य युरोपेली राष्ट्रहरूमा जर्मनीको राजनीतिक प्रभुत्वलाई लिएर असन्तुष्टिहरू देखिन्छन् । यसैगरी, बाल्कन क्षेत्रको इतिहास र द्वन्द्वका कारण सर्बिया छैटौं स्थानमा परेको छ ।

पर्यटकहरूको अत्यधिक भीड र कहिलेकाहीँ स्थानीयहरूको व्यवहारका कारण इटाली र ग्रीस क्रमशः सातौँ र आठौँ स्थानमा परेका छन् । रोचक कुरा के छ भने, विश्वमै शान्त र सुखी मानिने स्क्यान्डिनेभियन देशहरू र स्विट्जरल्याण्ड पनि यो सूचीमा अटाएका छन् । नवौं स्थानमा स्वीडेन, दशौंमा स्विट्जरल्याण्ड, एघारौंमा फिनल्याण्ड र बाह्रौंमा आइसल्याण्ड रहेका छन् । यी देशहरू प्रायः धेरै महँगो जीवनशैली, बाहिरी मानिसहरूप्रति केही हदसम्म रिजर्भ (अन्तरमुखी) रहने बानी र आप्रवासन सम्बन्धी कडा नीतिहरूका कारण विदेशीहरूको रोजाइमा कम परेको वा आलोचित भएको विश्लेषण गरिएको छ ।

Leave a Reply