लिस्बन (पोर्चुगल) — प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सम्बर्धनमा सक्रिय मगर संघ पोर्चुगलले सन् २०२६ को माघे संक्रान्ति पर्व भव्यताका साथ मनाउने तयारी गरेको छ ।
मगर जातिहरूको महत्त्वपूर्ण चाड माघे संक्रान्तिको अवसर पारेर संघले ‘माघे संक्रान्ति बृहत् सांस्कृतिक कार्यक्रम २०२६’ को आयोजना गर्ने घोषणा गरेको हो ।
यो विशेष कार्यक्रम सन् २०२६ जनवरी २४ तारिख शनिबारका दिन पोर्चुगलको राजधानी लिस्बनस्थित Praca Devid Leandro Da Silva 22, 1950-064 मा आयोजना हुनेछ ।
‘सम्मुनत मानव सभ्यताको लागि कला संस्कृति, सांस्कृतिक उन्नयनको लागि संक्रान्ति’ भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढेको मगर संघ पोर्चुगलले स्थापनाकालदेखि नै यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ । सन् २०१० मा स्थापना भएको यस संस्थाले पोर्चुगलमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन र नेपाली संस्कृतिको पहिचान विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यसपटकको कार्यक्रमले पनि प्रवासमा रहेका नेपालीहरूलाई आफ्नोपनको आभास दिलाउने र आपसी भाइचारा वृद्धि गर्ने विश्वास आयोजकले लिएको छ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालका चर्चित राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ । कार्यक्रममा चर्चित राष्ट्रिय लोकदोहोरी गायक श्याम राणा मगर तथा लोकप्रिय गायिकाहरू तिर्सना घर्ती मगर र शान्ति श्रीस मगरको विशेष सांगीतिक प्रस्तुति रहनेछ ।
उनीहरूले आफ्ना चर्चित गीतहरूमार्फत पोर्चुगलमा रहेका दर्शकहरूलाई भरपुर मनोरञ्जन दिलाउँदै नचाउने र झुमाउने अपेक्षा गरिएको छ । राष्ट्रिय कलाकारहरूका साथै पोर्चुगलमै रहेका स्थानीय कलाकारहरूको समेत आकर्षक प्रस्तुति रहने हुँदा कार्यक्रम सांगीतिक र सांस्कृतिक रूपमा निकै रमाइलो हुने देखिन्छ ।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन आयोजक समितिले कुनै कसर बाँकी राखेको छैन । गत वर्ष पनि संघले विविध सांस्कृतिक झाँकी र प्रस्तुतिसहित माघे संक्रान्ति मनाएको थियो, जसलाई दर्शकहरूले निकै रुचाएका थिए । यसपटकको कार्यक्रममा सहभागिता जनाउनका लागि आयोजकले प्रति व्यक्ति २० युरो प्रवेश शुल्क निर्धारण गरेको छ । परदेशको व्यस्त दैनिकीका बीच एक दिन भए पनि आफ्नै समुदाय र कलाकारहरूसँग रम्न पाउने यो अवसरलाई नगुमाउन संघले पोर्चुगलवासी सम्पूर्ण नेपालीहरूलाई अनुरोध गरेको छ ।






