लन्डन — सन् २०२६ जनवरी १ तारिखका दिन लन्डनमा टोपी दिवस मनाइने भएको छ। नेपाली पहिचान, संस्कृति र गौरवलाई सम्मान गर्ने उद्देश्यसहित राष्ट्रिय टोपी दिवस मनाउने तयारी गरिएको हो ।
आयोजकका अनुसार, कार्यक्रम जनवरी १ मा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस अवसरमा हन्स्लो हाइस्ट्रीटदेखि ओष्टर्ली पार्कसम्म टोपी दिवस पदयात्रा आयोजना गरिनेछ ।सहभागीहरूलाई सोही स्थानमा रहेको काठमाडौँ जोन रेष्टुरेन्ट नजिक भेला हुन आव्हान गरिएको छ ।
कार्यक्रमले नेपालीहरूको ऐतिहासिक पहिचान झल्काउने परम्परागत नेपाली टोपी, संस्कृति र गौरवलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । आयोजकले सम्पूर्ण नेपाली समुदायलाई परम्परागत ढाकाटोपी वा नेपाली टोपी लगाएर सहभागी भई यो ऐतिहासिक अवसरलाई सामूहिक रूपमा मनाउन आग्रह गरेका छन् ।
लन्डन तथा आसपासका नेपाली समुदायबीच एकता, सांस्कृतिक चेतना र राष्ट्रिय गौरवलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि कमल कंडेललाई ०७७७२६४११८० मा सम्पर्क गर्न सकिनेछ । वि.सं. २०७० सालदेखि नेपालमा औपचारिक रूपमा मनाउन थालिएको यो दिवसले पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल, सांस्कृतिक अभियन्ता र नेपाली समुदायको पहलमा व्यापक रूप लिँदै गएको छ ।
जनवरी १ मा टोपी दिवस मनाइनुको मुख्य कारण नयाँ वर्षको सुरुआतसँगै नेपाली पहिचान र संस्कृतिको स्मरण गराउँदै राष्ट्रिय भावना अभिवृद्धि गर्नु हो । नयाँ वर्षको दिन नेपाली टोपी लगाएर गर्वका साथ आफ्नोपन देखाउने उद्देश्य यसमा निहित छ ।
नेपाली टोपी विशेषगरी ढाकाटोपी र भादगाउँले टोपी नेपालको इतिहास, राजनीति र कूटनीतिसँग गहिरो रूपमा जोडिएको छ । आज टोपी दिवस नेपालभित्र मात्र सीमित नभई बेलायत, युरोप, अमेरिका, अष्ट्रेलिया, खाडी मुलुकलगायत विश्वभर रहेका नेपाली डायस्पोराले पदयात्रा, सांस्कृतिक कार्यक्रम, फोटो अभियान र सामूहिक उत्सवका रूपमा मनाउँदै आएका छन् ।





