Home Login
प्रवास

इटालीमा नेपाली सुनील तामाङको निधन

इटाली — इटालीको ट्रिएस्त शहरमा आश्रयको पर्खाइमा रहेका ४३ वर्षीय नेपाली नागरिक सुनील तामाङको निधन भएको छ । लामो र कठिन यात्रा तय गरी युरोप पुगेका तामाङको जनवरी १२ मा उपचारका क्रममा कात्तिनारा अस्पतालमा मृत्यु भएको हो ।

गत जनवरी १० मा तामाङ ट्रिएस्तको पोर्तो भेकियोस्थित एउटा पुरानो र जीर्ण भण्डार गृहमा अचेत अवस्थामा भेटिएका थिए । केही दिनदेखि छातीमा तीव्र दुखाइ महसुस गरिरहेका उनलाई हृदयाघात भएपछि स्थानीय स्वयंसेवी र साथीहरूले तुरुन्त एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍याएका थिए ।

चिकित्सकहरूका अनुसार अत्यधिक चिसो र फोक्सोको नसामा रगत जमेका कारण उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। अस्पतालमा केही दिनको संघर्षपछि उनलाई ‘मस्तिष्क मृत’ घोषित गरियो ।

तामाङको मृत्युले इटालीको शरणार्थी व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ । तामाङले डिसेम्बर ३१ देखि नै आफ्नो शरणार्थी आवेदन दर्ता गर्न प्रयास गरिरहेका थिए । उनले धेरै पटक प्रहरी प्रशासन धाए पनि कागजी प्रक्रिया र भीडभाडका कारण उनको आवेदन दर्ता हुन सकेन । कानुनी रूपमा आवेदन दर्ता नभएसम्म उनले सरकारी आश्रयस्थलमा ठाउँ पाउन सकेनन् । जसका कारण उनी माइनस डिग्रीको चिसोमा पोर्तो भेकियोको असुरक्षित भवनमा बस्न बाध्य भए ।

सुनील तामाङको मृत्युपछि ट्रिएस्तको ‘पियाज्जा लिबर्टा’ मा स्थानीय बासिन्दा, अधिकारकर्मी र नेपाली समुदायले मैनबत्ती प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन् । स्थानीय राजनीतिक दलहरूबीच पनि यस विषयमा चर्को बहस सुरु भएको छ । विपक्षी दलहरूले सरकारलाई “मानवीय संवेदनाहीन” भएको आरोप लगाएका छन् भने अधिकारकर्मीहरूले यो मृत्यु नभई “प्रणालीले गरेको हत्या” भएको टिप्पणी गरेका छन् ।

विगत केही हप्तामा मात्र यस क्षेत्रमा चिसो र उचित हेरचाहको अभावमा तामाङसहित अन्य चार आप्रवासीहरूले पनि ज्यान गुमाइसकेको रिपोर्ट आएको छ । यो घटनाले युरोपमा सुरक्षित भविष्य खोज्न आउने नेपालीहरूको सङ्घर्षपूर्ण र जोखिमयुक्त जीवनलाई फेरि एक पटक विश्वसामु ल्याएको छ । मृतक तामाङको पार्थिव शरीरलाई नेपाल पठाउन र बाँकी कानुनी प्रक्रियाका लागि स्थानीय नेपाली समाज र इटालीस्थित नेपाली दूतावाससँग समन्वय भइरहेको बुझिएको छ ।

Leave a Reply