लिस्बन (पोर्चुगल) — पोर्चुगलले वातावरण संरक्षण र फोहोर व्यवस्थापनमा क्रान्तिकारी कदम चाल्दै आगामी १० अप्रिल, २०२६ देखि देशव्यापी रूपमा ‘निक्षेप र फिर्ता प्रणाली’ (SDR) कार्यान्वयनमा ल्याउने भएको छ । यस नयाँ नियम अनुसार, उपभोक्ताले प्लास्टिकका बोतल (PET) र आल्मुनियमका क्यानमा रहेका पेय पदार्थ खरिद गर्दा प्रति बोतल वा क्यान १० सेन्ट अतिरिक्त शुल्क बुझाउनुपर्नेछ । यो रकम उपभोक्ताले खाली बोतल वा क्यान तोकिएको संकलन केन्द्रमा फिर्ता लगेर बुझाएपछि तुरुन्तै फिर्ता पाउनेछन् ।
यो व्यवस्था ३ लिटर क्षमतासम्मका सबै प्लास्टिकका बोतल र पेय पदार्थका क्यानहरूमा लागू हुनेछ । तर, काँचका बोतलहरू र दूध वा दुग्धजन्य पदार्थ (२५ प्रतिशतभन्दा बढी दूध मिसावट भएका) प्याकेजिङहरूमा भने यो नियम लागू हुनेछैन । त्यस्ता सामग्रीहरूलाई उपभोक्ताले पहिलेकै जस्तो पहेंलो रङको रिसाइक्लिङ फोहोरको भाँडोमा विसर्जन गर्नुपर्नेछ । निक्षेप रकम फिर्ता पाउनका लागि बोतल वा क्यान सुरक्षित हुनुपर्ने, त्यसमा आधिकारिक चिन्ह हुनुपर्ने र बारकोड मेसिनले पढ्न सक्ने गरी स्पष्ट हुनुपर्ने सर्त राखिएको छ ।
उपभोक्ताको सहजताका लागि पोर्चुगलभरिका ठूला सुपरमार्केटहरूमा करिब २,५०० वटा स्वचालित ‘भोल्टा’ मेसिनहरू जडान गरिनेछ । यसका साथै, देशभरि करिब ८,००० वटा म्यानुअल संकलन केन्द्रहरू र व्यस्त क्षेत्रहरूमा ५० वटा स्वचालित किओस्कहरू उपलब्ध हुनेछन् । नियम अनुसार ५० वर्गमिटर भन्दा ठूला सबै पसलहरूले यस्ता खाली बोतलहरू संकलन गर्नुपर्नेछ ।
यो प्रणालीको मुख्य उद्देश्य सडक र समुद्रमा फालिने प्लास्टिकको मात्रा घटाउनु र नागरिकहरूलाई फोहोर रिसाइक्लिङ प्रति थप जिम्मेवार बनाउनु हो ।





