विश्व आर्थिक मञ्चले सन् २०२६ को जनवरीमा सार्वजनिक गरेको ‘विश्वव्यापी जोखिम प्रतिवेदन २०२६’ ले गलत सूचना र भ्रामक जानकारीलाई विश्वको प्रमुख चुनौतीका रूपमा औँल्याएको छ । प्रतिवेदनका अनुसार विश्वव्यापी रूपमा गलत सूचनाको प्रवाह छोटो अवधिका लागि दोस्रो ठूलो जोखिम हो भने दीर्घकालीन रूपमा यो चौथो ठूलो जोखिमको रूपमा देखा परेको छ ।
प्रविधिको तीव्र विकाससँगै अहिले भिडियो, अडियो वा लिखित सामग्रीहरू वास्तविक हुन् वा कृत्रिम (एआईद्वारा सिर्जित) भनी छुट्याउन निकै कठिन बन्दै गएको छ । यसले गर्दा अनलाइन समाचार र सूचनाको विश्वसनीयतामा गम्भीर सङ्कट पैदा भएको छ । रोयटर्स इन्स्टिच्युटको सर्वेक्षण अनुसार विश्वभर ५८ प्रतिशत मानिसहरू अनलाइनमा देखिने समाचारको सत्यतालाई लिएर चिन्तित छन् । यो चिन्ता अफ्रिका र संयुक्त राज्य अमेरिकामा अझ बढी अर्थात् ७३ प्रतिशतसम्म पुगेको छ । फल स्वरूप, आम मानिसमा सञ्चार माध्यम र समाचारप्रतिको विश्वास घट्दै गएको छ भने धेरैले समाचारबाट टाढिने प्रवृत्ति पनि देखाउन थालेका छन् ।
भौगोलिक रूपमा हेर्दा उत्तरी अमेरिका, युरोप र पूर्वी एसियामा गलत सूचनालाई शीर्ष तीन जोखिमभित्र राखिएको छ भने अन्य क्षेत्रमा यो शीर्ष १० भित्र पर्दछ । सामाजिक सञ्जाल र एआई उपकरणहरूमाथिको बढ्दो निर्भरताले ‘एल्गोरिदम’ को प्रभावलाई बढावा दिएको छ । यसले प्रयोगकर्तालाई उनीहरूको विचारसँग मेल खाने जानकारी मात्र देखाउने हुँदा समाजमा एउटै घटनाप्रति पनि नितान्त फरक र ध्रुवीकृत दृष्टिकोणहरू निर्माण भइरहेका छन् ।
यसको असर अझ गहिरो र चिन्ताजनक बन्दै गएको छ । सन् २०२४ मा ३६ देशमा ६१ वटा द्वन्द्वहरू भए, जुन शीतयुद्ध समाप्त भएयताकै चौथो घातक वर्ष मानिन्छ । यस्ता द्वन्द्व र हिंसात्मक सामग्रीहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिँदा र बारम्बार देखिँदा मानिसहरूमा त्यसलाई ‘सामान्य’ रूपमा लिने बानी बस्न थालेको छ । अध्ययनहरूका अनुसार हिंसात्मक सामग्रीको निरन्तरको सामीप्यताले मानिसलाई भावनात्मक रूपमा असंवेदनशील बनाउँदै लगेको छ । यसको अर्थ, अहिलेको समाचार उपभोग गर्ने शैली र सामग्रीको प्रकृतिले मानिसलाई अन्य मानवको पीडा र त्रासदीप्रति सहानुभूतिहीन वा निष्ठुर बन्ने बाटोतर्फ धकेलिरहेको देखिन्छ ।





