लिमासोल (साइप्रस) — साइप्रसको लिमासोलमा भएको सवारी दुर्घटनामा परी एक नेपाली युवती गम्भीर घाइते भएकी छन् । इलेक्ट्रिक स्कुटरमा सवार २६ वर्षीया ती युवतीलाई कारले ठक्कर दिंदा उनको अवस्था चिन्ताजनक बनेको हो ।
गत मंगलबार बिहान करिब ८:३० बजे काममा जान निस्किएकी समयमा उनी दुर्घटनामा परेकी हुन् । लिमासोलस्थित मेडिटेरेनियन अस्पतालमा उनको उपचार भइरहेको छ । उनी सवार इलेक्ट्रिक स्कुटरलाई ५२ वर्षीया महिला चालकले चलाएको कारले ठक्कर दिएको थियो ।
दुर्घटना लगत्तै उनलाई उद्धार गरी लिमासोल जनरल अस्पताल पुर्याइएको थियो । साइप्रसबाट प्रकाशित हुने नेपाली अनलाइन पत्रिका ‘साइप्रस डट कम’ अनुसार, गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसका अध्यक्ष धाता नन्द पाण्डेले बताए अनुसार, युवतीको टाउकोमा गम्भीर चोट लागेको छ भने हात र खुट्टामा पनि ‘फ्र्याक्चर’ भएको छ ।
चिकित्सकहरूको भनाइ उद्धृत गर्दै अध्यक्ष पाण्डेयले घाइते युवतीको अवस्था निकै गम्भीर रहेको र हाल उनलाई सघन उपचार कक्ष (ICU) मा कोमामा राखी उपचार भइरहेको जानकारी दिए ।
घाइते युवती विगत दुई वर्षदेखि साइप्रसमा ‘आउट–लिभिङ भिसा’ अन्तर्गत घरेलु कामदार (हाउस मेड) का रूपमा कार्यरत थिइन् । परदेशमा श्रम गर्दै भविष्य खोजिरहेकी उनी अकस्मात यो दुखद दुर्घटनाको सिकार बन्न पुगेकी छन् ।
यसैबीच, निकोसियास्थित नेपाली कन्सुलेट कार्यालयले घटनाप्रति चासो देखाउँदै घाइतेको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको र आवश्यक ‘फलोअप’ गरिरहेको जनाएको छ । उता स्थानीय प्रहरीले ठक्कर दिने कार चालक ५२ वर्षीया महिलालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।





