लिस्बन (पोर्चुगल) — लिस्बनस्थित नेपाली राजदूतावासले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको पावन अवसरमा पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गरेको छ । ऐतिहासिक दिनको सम्मानमा दूतावासले भोलि फागुन ७ गते (तदनुसार १९ फेब्रुअरी २०२६) बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन दूतावासका सम्पूर्ण नियमित कार्यहरू बन्द रहनेछन् ।
प्रजातन्त्र दिवसको बिदा लगत्तै भोलिपल्ट अर्थात् २० फेब्रुअरी २०२६ का दिन दूतावास खुल्ला रहे तापनि केही विशेष सेवाहरूमा भने फेरबदल गरिएको छ । दूतावासले जनाएअनुसार प्राविधिक वा व्यवस्थापकीय कारणले गर्दा उक्त शुक्रबार ‘अधिकृत वारेशनामा प्रमाणित’ सम्बन्धी सेवा उपलब्ध हुने छैन । वारेशनामा बाहेकका अन्य कन्सुलर सेवाहरू भने साविक बमोजिम नै सुचारु रहनेछन् ।
राजदूतावासले सेवाग्राहीहरूलाई हुन सक्ने असुविधाप्रति ध्यान दिँदै सोही अनुसार आफ्नो कार्ययोजना बनाउन अनुरोध गरेको छ । विशेषगरी वारेशनामाका लागि टाढाबाट आउने सेवाग्राहीहरूलाई उक्त दिन नआउन र अन्य दिनको पालो मिलाउन समेत दूतावासले सूचित गरेको छ ।





