Home Login
प्रवास

मिलानमा ट्राम दुर्घटना ; अनियन्त्रित गतिले भवनमा ठक्कर दिँदा एकको मृत्यु, दर्जनौं घाइते

इटाली — इटालीको पर्यटकीय तथा ऐतिहासिक सहर मिलानको केन्द्र भागमा शुक्रबार दिउँसो एउटा भयावह ट्राम दुर्घटना भएको छ। सधैँझैं व्यस्त रहने मिलानको सडकमा गुडिरहेको ट्राम अचानक पटरीबाट बाहिरिएर अनियन्त्रित भएपछि ठूलो मानवीय क्षति भएको हो । यो दुखद घटनामा एक पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ भने कम्तिमा ४० जना यात्रु तथा सर्वसाधारण घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार, भिया लाजारेटोको व्यस्त चौबाटोमा पुग्दा ट्रामले आफ्नो निर्धारित सीधा बाटो छोडेर अचानक बायाँतर्फ मोडिएको थियो । चालकले नियन्त्रण गुमाएपछि तीव्र गतिको ट्रामले सडक किनारामा रहेका ट्राफिक बत्तीहरू ढाल्दै नजिकैको एउटा व्यावसायिक भवनमा भीषण ठक्कर दिएको थियो । ट्रामको ठक्करबाट एउटा रेस्टुरेन्टको झ्यालका सिसाहरू फुटेका छन् भने भवनको केही भागमा समेत क्षति पुगेको छ ।

दुर्घटनाको प्रकृति यति भयानक थियो कि ट्राम पटरीबाट खसेपछि सडकमा हिँडिरहेका पैदल यात्रीहरूलाई समेत चपेटामा पारेको थियो । मृत्यु हुने व्यक्ति ट्राम भित्रका यात्रु नभई सडकमा हिँडिरहेका पैदल यात्री रहेको पुष्टि भएको छ। दुर्घटनालगत्तै घटनास्थलमा ठूलो संख्यामा एम्बुलेन्स, दमकल र प्रहरी परिचालन गरिएको थियो । धेरै यात्रुहरू ट्रामभित्रै फसेका कारण उद्धार टोलीलाई उनीहरूलाई बाहिर निकाल्न निकै कसरत गर्नुपरेको थियो ।

घाइते भएका ४० जनामध्ये एक जनाको अवस्था अत्यन्तै नाजुक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । अन्य छ जनाको अवस्था मध्यम (कोड येलो) छ भने बाँकी यात्रुहरू सामान्य चोटपटकपछि उपचाररत छन् । सबै घाइतेहरूलाई तत्कालै निगुआर्डा अस्पताल पुर्‍याइएको छ ।

मिलानका महान्यायाधिवक्ता मार्सेलो भियोला आफैँ घटनास्थलमा पुगेर वस्तुस्थितिको निरीक्षण गर्नुभएको छ । उहाँले यस घटनालाई गम्भीरतापूर्वक लिँदै ‘हत्या’ को सम्भावित कोणबाट अनुसन्धान सुरु गरिएको जानकारी दिनुभएको छ ।

ऐतिहासिक केन्द्र नजिकै भएको यो दुर्घटना यान्त्रिक खराबीका कारण भएको हो वा चालकको असावधानीले, भन्नेबारे लोम्बार्डी क्षेत्रको प्रहरीले विस्तृत छानबिन गरिरहेको छ । हाल घटनास्थललाई घेराबन्दी गरी प्रमाणहरू संकलन गर्ने कार्य भइरहेको छ ।

Leave a Reply