Home Login
राष्ट्रिय

युरोपका नेपालीको सन्देश ; ‘पुराना नारा होइन, परिणाममुखी नेतृत्व देऊ’

युरोप — नेपालमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सरगर्मीले यतिबेला सिङ्गो युरोपका नेपाली समुदायलाई तताएको छ ।

लन्डनका रेस्टुरेन्टदेखि पोर्चुगल र पेरिसका गल्लीहरूसम्म चल्ने बहसमा एउटै प्रश्न गुन्जिरहेको छ– के यसपालिको चुनावले देशको मुहार फेर्ला ? सामाजिक सञ्जाल र आपसी भेटघाटमा प्रवासी नेपालीहरूले दलहरूको घोषणापत्र र उम्मेदवारहरूको शैलीमाथि तिखो बहस सुरु गरेका छन् ।

युरोपमा बसोबास गर्ने नेपालीहरू दलहरूले अघि सारेका पुराना एजेन्डा र उत्तेजक भाषणप्रति असन्तुष्ट छन् । उनीहरूको विश्लेषणमा नेपालको राजनीति अझै पनि परिणाममुखी हुन सकेको छैन । विकसित मुलुकको प्रणाली र सुशासनलाई नजिकबाट नियालेका युरोपबासी नेपालीहरू नेपालमा पनि त्यस्तै पारदर्शिता र जवाफदेही नेतृत्वको खोजीमा छन् । त्यसैले उनीहरूले नेपालमा रहेका आफ्ना अभिभावक र साथीभाइलाई फोन र म्यासेजमार्फत ‘हाम्रोलाई भन्दा राम्रोलाई’ र ‘पुरानालाई भन्दा नयाँ भिजन भएका युवालाई’ भोट दिन आग्रह गरिरहेका छन् ।

प्रवासमा रहेका नेपालीहरूको सबैभन्दा ठूलो गुनासो आफूहरूले देशको अर्थतन्त्रमा रेमिट्यान्समार्फत ठूलो योगदान पुर्‍याए पनि मताधिकारबाट वञ्चित हुनुपरेकोमा छ । युरोपभर रहेका नेपालीहरूको एउटै आवाज छ– अब बन्ने नयाँ सरकारले विदेशमा रहेका नेपालीको भावनाको कदर गरोस् । उनीहरू चाहन्छन् कि आगामी नेतृत्वले केवल सत्ताको जोड–घटाउमा नलागी सुशासन, आर्थिक विकास र प्रवासी नेपालीलाई मतदानको अधिकार दिने कानुनी व्यवस्थालाई प्राथमिकतामा राखोस् ।

Leave a Reply