पोर्चुगल — पोर्चुगलको राजधानी लिस्बनमा नेपाल र पोर्चुगलबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउँदै नेपाली दूतावासको चान्सरीको औपचारिक उद्घाटन गरिएको छ । नेपालका परराष्ट्र सचिव अमृत बहादुर राई र पोर्चुगल गणतन्त्रको विदेश मामिला तथा सहयोग राज्य सचिव महामहिम डा. आना इसाबेल जेभियरले एक विशेष समारोहका बीच संयुक्त रूपमा चान्सरीको समुद्घाटन गर्नुभयो । यो ऐतिहासिक पलले दुई देशबीचको बढ्दो मित्रता र सहकार्यलाई संस्थागत स्वरूप दिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्र सचिव राईले दूतावास स्थापनाको प्रक्रियामा पोर्चुगल सरकारले पुर्याएको निरन्तर सहयोग र सहजीकरणप्रति नेपाल सरकारको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।
उहाँले लिस्बनमा राजदूतावासको उपस्थिति र आफ्नै भवन (चान्सरी) बाट हुने सेवा प्रवाहले पोर्चुगलमा रहेका नेपाली समुदायको हित रक्षा र दुई देशबीचको आर्थिक तथा राजनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा पोर्चुगली राज्य सचिव डा. आना इसाबेल जेभियरले पोर्चुगलमा नेपालको दूतावासलाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले दूतावासको सुचारु सञ्चालन र भावी कूटनीतिक प्रयासहरूमा पोर्चुगल सरकारको तर्फबाट पूर्ण र निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कूटनीतिक कोर्प्सका डीन एवं अपोस्टोलिक नन्सियो महामहिम मोस्ट रेभरेन्ड एन्ड्रेस कार्रास्कोसा कोसोले लिस्बनको कूटनीतिक समुदायमा नेपाललाई नयाँ सदस्यको रूपमा स्वागत गर्दै शुभकामना प्रदान गर्नुभएको थियो ।
पोर्चुगलका लागि नेपालका राजदूत महामहिम प्रकाशमणि पौडेलले उपस्थित विशिष्ट अतिथिहरूलाई स्वागत गर्दै दूतावासले केवल प्रशासनिक केन्द्रको रूपमा मात्र नभई दुई राष्ट्र र जनताबीचको सम्बन्धलाई जोड्ने बलियो ‘पुल’को रूपमा काम गर्ने स्पष्ट पार्नुभयो । उहाँले विशेषगरी पोर्चुगलमा रहेका नेपालीहरूको श्रम, सीप र संस्कृतिलाई स्थानीय समाजसँग जोड्न दूतावासले सक्रिय भूमिका खेल्ने बताउनुभयो ।
समारोहमा पोर्चुगलको विदेश मन्त्रालयका महासचिव राजदूत श्री फ्रान्सिस्को रिबेरो टेलेस, विभिन्न सरकारी निकायका उच्च अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्मरणीय छ कि, लिस्बनस्थित नेपाली दूतावासले १६ अप्रिल २०२५ देखि नै आफ्नो कार्य सञ्चालन सुरु गरिसकेको भए तापनि चान्सरीको औपचारिक उद्घाटनले यसको कूटनीतिक यात्रामा एउटा महत्वपूर्ण इँटा थपेको छ ।





