क्यानाडा — हरेक वर्ष हजारौं विदेशी नागरिकले क्यानाडाको नागरिकता लिने गरेका छन् । क्यानाडाको कानुनले दोहोरो नागरिकतालाई सहजै स्वीकार गर्छ । तर, क्यानाडाको नागरिक बन्दै गर्दा आफ्नो मातृभूमि अर्थात् पुरानो देशको नागरिकता कायम रहन्छ वा खारेज हुन्छ भन्ने कुरा भने सम्बन्धित देशकै कानुनमा निर्भर रहने गरेको छ ।
क्यानाडामा सबैभन्दा धेरै नागरिकता लिने विदेशीहरूको सूचीमा भारतीय नागरिकहरू अग्रस्थानमा आउँछन् । तर, भारतले दोहोरो नागरिकतालाई कानुनी मान्यता नदिएका कारण क्यानाडाको नागरिकता लिनेबित्तिकै उनीहरूले आफ्नो भारतीय नागरिकता त्याग्नुपर्ने बाध्यता छ ।
भारतजस्तै नेपालको कानुनले पनि दोहोरो नागरिकतालाई स्वीकार गर्दैन । त्यसैले, क्यानाडाको नागरिक बन्ने नेपाली वा भारतीयहरूले आफ्नो पुरानो नागरिकता कानुनी रूपमै गुमाउँछन् ।
यद्यपि, विश्वका कैयौं देशले भने आफ्ना नागरिकलाई यो झन्झटबाट मुक्त राखेका छन् । सन् २०२५ को तथ्यांकअनुसार क्यानाडाको नागरिकता लिने प्रमुख देशहरूमध्ये १० वटा यस्ता देश छन्, जसले आफ्ना नागरिकलाई दोहोरो नागरिकताको सुविधा दिएका छन् ।
एसियाली मुलुक फिलिपिन्सका जन्मसिद्ध नागरिकले क्यानाडाको नागरिकता लिएपछि एक औपचारिक शपथ ग्रहण गरेर आफ्नो पुरानो नागरिकता कायमै राख्न सक्छन् ।
त्यस्तै, पाकिस्तानले सन् २०२४ मा ल्याएको नयाँ कानुनअनुसार आफ्ना नागरिकलाई क्यानाडासहित २२ वटा देशसँग दोहोरो नागरिकता राख्ने छुट दिएको छ । मध्यपूर्वको देश सिरियाले पनि आफ्ना नागरिकलाई एकभन्दा बढी देशको नागरिकता राख्न अनुमति दिन्छ भने अफ्रिकी राष्ट्र नाइजेरियाले जन्म वा वंशजका आधारमा नागरिकता लिएकाहरूलाई मात्र यो विशेष सुविधा प्रदान गरेको छ ।
यता, युरोपियन र अमेरिकी देशहरूमा भने दोहोरो नागरिकताको नियम निकै खुकुलो रहेको पाइन्छ । अमेरिका, बेलायत र ब्राजिलका नागरिकले कुनै पनि सर्तबिना क्यानाडासँग दोहोरो नागरिकता राख्न पाउँछन् । क्यानाडाको नागरिकता लिँदा उनीहरूले आफ्नो पुरानो राहदानी त्याग्नु पर्दैन । फ्रान्सले सन् १९७३ र मेक्सिकोले सन् १९९८ देखि नै आफ्ना नागरिकलाई दोहोरो नागरिकताको पूर्ण अधिकार दिँदै आएका छन् । यसैगरी, जर्मनीले पनि भर्खरै अर्थात् सन् २०२४ को जुन महिनादेखि नयाँ कानुन लागू गर्दै आफ्ना नागरिकका लागि दोहोरो नागरिकता खुला गरेको छ ।
समग्रमा भन्नुपर्दा, क्यानाडाले आप्रवासीहरूलाई दोहोरो नागरिकताको पूर्ण अधिकार दिए पनि आफ्नो जन्मभूमिको नागरिकता जोगिने वा नजोगिने भन्ने कुरा सम्बन्धित देशकै नीतिमा भर पर्छ ।





