आज जनवरी १७, २०२५ शुक्रबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ –
नेपाली राजदूतावासको चेतावनी: आकर्षक रोजगारीका प्रलोभनमा नपर्न आग्रह —
नेपाली राजदूतावास, बर्लिनले युरोपका विभिन्न मुलुकहरूमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई ठगी गर्ने घटनाहरू बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सजग रहन अपिल गरेको छ।
दूतावासले शुक्रबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालहरू, विशेष गरी टिकटक र फेसबुकमार्फत, भ्रामक प्रचारहरू गरिएको जानकारी आएको जनाएको छ।
अन्तिम श्रद्धाञ्जली दिएर माल्टाबाट गौरीको शव नेपाल पठाइयो —
अन्तिम श्रद्धाञ्जली दिएर माल्टाबाट गौरी कुमारी बरालको शव नेपाल पठाइएको छ । सडक दुर्घटनामा परी निधन भएकी बर्दिबास नगरपालिका ३ महोत्तरीकी २४ वर्षिय बरालको शव बिहीवार नेपाल पठाइएको हो ।
अमेरिकामा आइतबारदेखि टिकटक बन्द —
अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन रोक्न अस्वीकार गरेपछि अब आइतबारदेखि अमेरिकामा टिकटक बन्द हुने भएको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकप्रति समर्थन जनाइरहेको बेलामा रुढीवादी न्यायाधिसहरुको बाहुल्य रहेको सर्वोच्चको आदेश टिकटकको लागी एक झटका भएको छ ।
चीनमा लगातार तेस्रो वर्ष जनसंख्या घट्दो —
चीनले सन् २०२४ मा लगातार तेस्रो वर्ष जनसंख्या घटेको बताएको छ। चीन कुनै समय विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश थियो। चीनलाई २०२३ मा भारतले उछिनेको थियो। चीनको जनसंख्या सन् २०२३ मा १.४११ बिलियन रहेको थियो। त्यही समयमा भारतमा भने १.४२९ रहेको थियो। सन् २०२४ मा चीनको जनसङ्ख्या १.४०८ बिलियन रहेको थियो भने भारतको १.४५ बिलियन रहेको थियो ।
यस्तै सन् २०२५ मा हेर्ने हो भने अहिले विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारत,चीन र अमेरिका रहेको छ। कुनै समय विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश चीन,अहिले बढ्दो जनसङ्ख्यालाई कम गरेर विश्वकै दोस्रो नम्बरमा झरेको छ। त्यस्तै सन् २०२५ मा नेपालको जनसंख्या २ करोड ९६ लाख १८ हजार ११८ रहेको अनुमान गरिएको छ।
लिस्बनमा घरबारविहीनहरूका लागि मेट्रो स्टेशनहरू खोल्दै —
लिस्बन मेट्रोले आइतबारदेखि सान्ता अपोलोनिया, ओरिएन्टे र रोसियो स्टेशनहरू रातिको समयमा खुल्ने भएको छ। पोर्चुगलमा बढ्दो चिसोको कारण चिसोका कारण घरबहारविहिन मानिसहरूलाई मध्यनजर गर्दै तिनैवटा स्टेसनहरू खुल्ने भएको हो।
सान्ता अपोलोनियामा, उत्तरी क्षेत्रको प्रवेशद्वार स्टेशन भवनको छेउमा रहेको फुटपाथमा खोलिनेछ। पूर्वमा, प्रवेशद्वार ट्यागस/शपिङ सेन्टर साइडको गेटबाट र रोसियोमा प्राका दा फिगुइराको गेटबाट खुल्ला हुनेछ।