Home Login
प्रवास

फिनल्यान्डमा आज आमाको मुख हेर्ने दिन

फिनल्याण्ड — फिनल्याण्डमा आमाको दिनमा राष्ट्रिय झण्डा फहराइन्छ जुन अरू कुनै पनि निजी वा पारिवारिक दिवसमा देखिँदैन।

फिनल्याण्डमा आज मे महिनाको दोस्रो आइतबार आमाहरूको दिन अर्थात् äitienpäivä आमाहरूप्रति गहिरो सम्मान र प्रेम व्यक्त गर्दै देशभर मनाइँदैछ। यो फिनिस संस्कृतिमा आमाको भूमिका, त्याग, योगदान र महत्त्वलाई कदर गर्ने एक महत्वपूर्ण दिन हो ।

आज छोराछोरीले आफ्नी आमालाई बिहानै ओछ्यानमै विहानको ब्रेकफास्ट तयार पारेर खुवाउने, हातले बनाएका कार्डहरू तथा उपहारहरू दिने र विशेषगरी वसन्त ऋतुमा फुल्ने सेतो ‘भाल्कोभुओक्को’ नामको फूल दिने चलन छ। यो दिन फिनल्याण्डमा आधिकारिक रूपमा राष्ट्रिय झण्डा पनि फहराइन्छ, जुन अरू कुनै पनि निजी वा पारिवारिक दिवसमा देखिँदैन ।

फिनल्याण्डमा आमाहरूको दिन पारिवारिक जमघट गर्ने र आमालाई विशेष महसुस गराउने दिन हो । आज धेरै परिवारहरूले घरमै विशेष परिकारहरू बनाउँछन् वा रेस्टुरेन्टमा सँगै खाना खान जान्छन् । आमाहरूलाई मात्र नभई हजुरआमाहरूलाई पनि विशेष सम्मान दिइन्छ । बालबालिकाहरूले विद्यालय तथा शिशु स्याहार केन्द्रहरूमा आमाको लागि विभिन्न कलाकृति र उपहारहरू बनाउँछन् ।

आजै फिनल्याण्डका राष्ट्रपतिद्वारा केही विशेष आमाहरूलाई उनीहरूको योगदानको कदर गर्दै ‘अर्डर अफ द व्हाइट रोज अफ फिनल्याण्ड’ (Suomen Valkoisen Ruusun ritarikunnan mitali) पदकद्वारा सम्मानित पनि गरिन्छ ।

फिनल्याण्डमा आमाहरूको दिन मनाउने परम्पराको सुरुवात फिनल्याण्डले स्वतन्त्रता पाएको एक वर्षपछि सन् १९१८ मा भएको हो । यसको प्रारम्भिक श्रेय शिक्षक तथा सांसद भिल्हो रेइमा (Vilho Reima) लाई जान्छ ।

उनले अमेरिकी मातृ दिवसबाट प्रभावित भई फिनल्याण्डमा पनि यो दिवस मनाउनुपर्ने प्रस्ताव राखेका थिए । सुरुमा यो दिनलाई मे महिनाको फरक मितिमा मनाउने प्रस्ताव गरिए पनि पछि मे महिनाको दोस्रो आइतबारलाई नै आधिकारिक रूपमा चयन गरियो ।

दोस्रो विश्वयुद्धपछि धेरै फिनिश परिवारहरूले युद्धमा आफ्ना पुरुषहरू गुमाएका थिए र आमाहरूको भूमिका झनै महत्वपूर्ण बन्यो । सन् १९४७ देखि यो दिनलाई आधिकारिक रूपमा झण्डा दिवसको रूपमा मान्यता दिइयो । प्रारम्भिक दिनहरूमा यो दिवसलाई असल नागरिक तयार पार्ने र राष्ट्र निर्माणमा आमाको भूमिकालाई जोड दिने माध्यमको रूपमा हेरिन्थ्यो । मैंनरहेइमिन लास्तेन सुएलु लित्तो नामक बाल कल्याण संगठनले पनि यसलाई प्रवर्द्धन गरेको थियो ।

Leave a Reply