काठमाडौं — डेब्यू निर्देशक नविन चौहानको ‘ऊनको स्वीटर’ले दुई दिनमा सुखद् कमाइ गरेको छ । ‘अञ्जिला’ पछि चौहान निर्देशित यो चलचित्रले उत्साहजनक व्यापार गरेको वक्सअफिस रिपोर्टले देखाएको छ ।
चलचित्र विकास बोर्डको वक्स अफिस रिपोर्ट अनुसार चलचित्रको दुई दिनको कमाइ १ करोड ३७ लाख ६९ हजार ग्रस छ ।
देशव्यापी प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन १९० शो पाएको थियो । शुक्रबार बिहानैदेखि सुरु भएको दर्शकको चाप राति अबेरसम्म कायम रह्यो । अधिकांश हलमा प्रायः सबै शो हाउसफुल भए । पहिलो दिनको यो सफलताले उत्साहित हल सञ्चालकहरूले शनिबारका लागि शो सङ्ख्या बढाएका थिए । वितरक गोविन्द शाहीका अनुसार शनिबार बिहानैदेखि अधिकांश हल हाउसफुल भएका छन्। हाल यो चलचित्र ३०० भन्दा बढी स्क्रिनमा प्रदर्शन भइरहेको छ ।
यो चलचित्रले नेपाली समाज, संस्कृति र प्रेमकथालाई सुन्दर ढङ्गले समेटेको छ । नवीन चौहानद्वारा निर्देशित यो चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।