Home Login
प्रविधि

बोल्टको नयाँ फिचर : ड्राइभरले लापरवाह गाडी चलाए ‘एप’ बाटै रिपोर्ट गर्न सकिने

लिस्बन — चर्चित राइड-हेलिङ सेवा प्रदायक कम्पनी बोल्टले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आफ्नो एपमा एक महत्त्वपूर्ण फिचर थप गरेको छ । अब यात्राका क्रममा ड्राइभरले तीव्र गतिमा वा लापरवाह तरिकाले गाडी चलाएको महसुस भएमा यात्रुले सोझै एपमार्फत रिपोर्ट गर्न सक्नेछन् ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै युरोपेली कम्पनी बोल्टले यो नयाँ सुविधा सार्वजनिक गरेको हो । यो कदम कम्पनीको १० करोड युरो (१० मिलियन युरो) बराबरको विश्वव्यापी सुरक्षा लगानी परियोजनाको एक हिस्सा हो ।

यो नयाँ सुविधा विशेष गरी इलेक्ट्रोनिक प्लेटफर्म (TVDE) मार्फत सञ्चालित सवारी साधनहरूमा यात्रा गर्दा यात्रुलाई सुरक्षित महसुस गराउन ल्याइएको हो । यसले ‘अनुपयुक्त ड्राइभिङलाई निरुत्साहित गर्ने’ लक्ष्य राखेको छ ।

यदि कुनै यात्रुलाई ड्राइभरको व्यवहार वा ड्राइभिङ शैली असुरक्षित लागेमा, उनीहरूले निम्न प्रक्रिया अपनाएर रिपोर्ट गर्न सक्छन् ।

१.बोल्ट एपमा रहेको ‘सेफ्टी टुलकिट’ वा सुरक्षा उपकरण खोल्ने । २.मेनुबाट “खतरनाक ड्राइभिङ रिपोर्ट गर्नुहोस्” विकल्प चयन गर्ने । ३.त्यसपछि देखिने तीन विकल्पमध्ये घटना अनुसार कुनै एक छान्ने :

तीव्र गति
ड्राइभिङ गर्दा मोबाइल फोनको प्रयोग
लापरवाह ड्राइभिङ

यो रिपोर्टिङ सिस्टमले यात्रुहरूलाई यात्रा समाप्त भएपछि ड्राइभरको व्यवहारबारे तत्काल प्रतिक्रिया दिन सक्षम बनाउँछ ।

नयाँ रिपोर्टिङ फिचर बाहेक, बोल्टले यात्रुको सुरक्षाका लागि एपमा पहिलेदेखि नै “बलियो सुरक्षा उपायहरू” लागू गरिरहेको जनाएको छ ।

१. राइड चेक : यदि यात्राको क्रममा गाडी लामो समयसम्म एकै ठाउँमा रोकियो वा तोकिएको रुटभन्दा बाहिर गयो भने, यो सिस्टमले आफैँ पत्ता लगाउँछ । यस्तो अवस्थामा एपले यात्रुलाई ‘के सबै ठीक छ ?’ भनेर सोध्छ र आवश्यक परेमा आपतकालीन सेवा वा बोल्टको सुरक्षा टोलीलाई सम्पर्क गर्न मद्दत गर्छ ।

२. अनम्याचिङ : यदि कुनै यात्रुले ड्राइभरलाई कम रेटिङ दिएका छन् भने, यो फिचरले भविष्यमा सोही यात्रु र ड्राइभरलाई कहिल्यै पनि एकआपसमा जोडा बनाउँदैन ।

३. विश्वसनीय सम्पर्कहरू : यो फिचरमार्फत यात्रुले आपतकालीन अवस्थामा आफ्ना परिवार वा साथीहरूलाई स्वचालित रूपमा सतर्क (Alert) गराउन सक्छन्।

४. आपतकालीन बटन : खतरा महसुस भएमा एपमा रहेको इमर्जेन्सी बटन थिचेर तुरुन्तै प्रहरी वा आपतकालीन सेवालाई खबर गर्न सकिन्छ ।

५. चार-अङ्कको पिकअप कोड : गलत गाडी वा ड्राइभर नपरोस् भन्नका लागि, यात्रु र ड्राइभरको एपमा एउटा ४ अङ्कको कोड म्याच भएपछि मात्र यात्रा सुरु हुन्छ । साथै, ‘रियल-टाइम लोकेसन सेयरिङ’ को सुविधा पनि उपलब्ध छ ।

हाल बोल्ट ५० भन्दा बढी देश र ६ सय  सहरहरूमा सञ्चालनमा छ । पोर्चुगलमा भने उबर सँगै बोल्ट प्रमुख दुई राइड-हेलिङ अपरेटरमध्ये एक हो । निरन्तर नयाँ फिचर थप्दै बोल्टले बजारमा आफ्नो विश्वसनीयता बढाउने प्रयास गरिरहेको देखिन्छ ।

Leave a Reply