Home Login
भिडियो

पोर्चुगलबाट गुन्जियो मौलिक कौडा गीत : ‘डिजिटल लिस्बन’ को प्रस्तुतिमा ‘सम्झनाको फोटो’ सार्वजनिक

पोर्चुगल (लिस्बन) — युरोपेली मुलुक पोर्चुगललाई कर्मथलो बनाएका नेपाली कलाकारहरूको सक्रियतामा नयाँ मौलिक कौडा गीत ‘सम्झनाको फोटो’ सार्वजनिक भएको छ । शुक्रबार (नोभेम्बर २१) ‘डिजिटल लिस्बन’ को विशेष प्रस्तुतिमा यो गीत बजारमा आएको हो ।

प्रवासमा रहेर पनि नेपाली लोक भाका र संस्कृतिको संरक्षणमा जुटेका सर्जक मलीनराज गुरुङ र गायिका गीता पैजा मगरको सुमधुर स्वरमा सजिएको यस गीतले परदेशी जीवन र घरदेशको सम्झनालाई जोड्ने प्रयास गरेको छ ।

गीत र सङ्गीत पक्ष सार्वजनिक गीतमा शब्द तथा सङ्गीत स्वयम् गायक मलीनराज गुरुङकै रहेको छ । गुरुङले कोरेका शब्दहरूमा कौडाको मौलिक भाका र प्रेमिल भाव समेटिएको छ । गीतको एरेन्जमेन्ट भने तेजेन्द्र गुरुङले गरेका हुन् । मौलिक बाजा र रिदमको संयोजनले गीतलाई थप कर्णप्रिय बनाएको छ ।

भिडियो पोर्चुगलको दृश्यमा प्रेम र परिवारको कथा गीतको म्युजिक भिडियो पूर्ण रूपमा पोर्चुगलका रमणीय स्थानहरूमा छायांकन गरिएको छ । भिडियोमा प्रेम सम्बन्ध र पारिवारिक आत्मीयताको सुन्दर कथा बुनिएको छ ।

भिडियोमा मलीनराज गुरुङ र मालती गुरुङले मुख्य अभिनय गरेका छन् । उनीहरूको केमेस्ट्रीलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ । कथालाई जीवन्त बनाउन सहायक पात्रहरूको भूमिका पनि सशक्त देखिन्छ । जसमा बुबाको भूमिकामा विशाल गुरुङ, आमाको भूमिकामा सानु माया गुरुङ, भाइको भूमिकामा नितेश गुरुङ र श्रीमानको भूमिकामा उमेश बि.केले अभिनय गरेका छन् ।

यसैगरी, कौडाको तालमा कम्मर मर्काउँदै तेजेन्द्र दुरा, रुपी सिञ्जली मगर र प्रेमा राना मगरले नृत्यमा साथ दिएका छन् ।

निर्माण तथा प्राविधिक पक्ष भिडियोको निर्देशन ऐताराम गुरुङले गरेका हुन् । निर्देशक गुरुङले पोर्चुगलको परिवेशलाई गीतको भावसँग जोड्न सफल भएका छन् । भिडियोलाई कृष्ण थापा र सुरेश जी.सीले संयुक्त रूपमा छायांकन गरेका हुन् भने मेकअपमा धन कुमारी गुरुङले साथ दिएकी छिन् । गीतको कोरियोग्राफी राधे गिरीले गरेका हुन् । यो सांगीतिक कोसेली ‘Malincha Official’ युट्युब च्यानल मार्फत विश्वभर सार्वजनिक गरिएको छ ।

यो म्युजिक भिडियोको सम्पूर्ण निर्माण व्यवस्थापन ‘डिजिटल लिस्बन’ ले गरेको हो । पोर्चुगलमा रहेर गुणस्तरीय भिडियो र फोटोग्राफीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल डिजिटल लिस्बनले ग्राहकहरूको माग अनुसारको काम गर्दै आइरहेको छ ।

कम्पनीका अनुसार, पोर्चुगलमा म्युजिक भिडियो, फोटोसुट, सिरियल वा अन्य कुनै पनि डिजिटल सामग्री निर्माण गर्न चाहनेहरूका लागि डिजिटल लिस्बन एक विश्वसनीय गन्तव्य हो । उच्च प्रविधिको प्रयोग र अनुभवी टिमका कारण आफूहरूले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ ।

Leave a Reply