पोर्चुगल — युरोपेली मुलुक पोर्चुगललगायत सिङ्गो युरोप महादेश अहिले महान् चाड क्रिसमसको रङमा रङ्गिन थालेको छ । नोभेम्बर महिनाको अन्त्यसँगै चिसो स्याँठ बढे पनि सहरका चोक, गल्ली र घरहरूमा बलेका रङ्गीचङ्गी बत्तीले न्यानो र उत्साहजनक वातावरण सिर्जना गरेका छन् ।
अङ्ग्रेजी पात्रो अनुसार डिसेम्बर २५ मा मनाइने येशू ख्रीष्टको जन्मदिनको लागि युरोपमा एक महिना अगाडिदेखि नै भव्य तयारी सुरु हुन्छ, जसलाई ‘एडभेन्ट’ पनि भनिन्छ ।
पोर्चुगलको राजधानी लिस्बन , पोर्टो लगायत साना-ठूला सहरहरूमा नगरपालिकाले विशेष कार्यक्रम गरी सडक बत्तीहरू बाल्न सुरु गरिसकेका छन् । मुख्य पर्यटकीय स्थलहरू, सडकका पोलहरू र ठूला-ठूला चोकहरूमा लाखौँ एलईडी बत्तीहरू जडान गरिएका छन् । लिस्बनको ‘कमर्सियो स्क्वायर’ र ‘रोसियो’ मा राखिएका विशाल क्रिसमस ट्री ले पर्यटक र स्थानीयको मन लोभ्याएको छ । मानिसहरूले आफ्ना घरका झ्याल, बार्दली र बगैँचाहरूमा बत्ती र सान्टा क्लजका मूर्तिहरू सजाएका छन् । विद्यालय र कार्यालयहरूमा पनि क्रिसमस ट्री सजाउने र एक-अर्कालाई उपहार दिने क्रम सुरु भइसकेको छ ।
युरोपमा क्रिसमसको सबैभन्दा ठूलो विशेषता यहाँ लाग्ने ‘क्रिसमस मार्केट’ हो । जर्मनी, फ्रान्स, अस्ट्रिया, चेक रिपब्लिक र पोर्चुगलका विभिन्न स्थानमा काठका साना-साना टहरा बनाएर अस्थायी बजारहरू राखिएका छन् । यी बजारहरूमा क्रिसमसका सजावटका सामान, ऊनीका लुगा र हस्तकलाका सामग्रीहरू पाइन्छन् । चिसो मौसममा तातो ‘मल्ड वाइन’ (Mulled Wine – मसला हालेर तताइएको वाइन), पोर्चुगलको प्रसिद्ध ‘जिन्जिना’ र विभिन्न स्थानीय परिकारहरू खाँदै मानिसहरू रमाइलो गर्छन् ।
पोर्चुगलमा क्रिसमसलाई धार्मिक र पारिवारिक मिलनको पर्वका रूपमा लिइन्छ। यहाँका चर्चहरूमा ‘प्रेजेपियो’ अर्थात् येशू जन्मेको गोठको झाँकी सजाउने चलन धेरै पुरानो हो ।
१. कन्सोआ (पूर्वसन्ध्याको भोज) : डिसेम्बर २४ को बेलुकी सबै परिवारका सदस्यहरू एकै ठाउँमा भेला हुन्छन् । पोर्चुगिज परम्परा अनुसार यो दिन ‘बाकालियाउ’ (Bacalhau – Codfish), उम्लेको आलु र सागसब्जी खाने चलन छ ।
२. मिसा दो गालो : २४ तारिखको मध्यरातमा चर्चमा विशेष पूजा (Midnight Mass) हुन्छ, जहाँ परिवारका सबै सदस्य सहभागी हुन्छन् ।
३. बोलो रे : क्रिसमसको समयमा ‘बोलो रे’ (King Cake) नामक विशेष केक काटिन्छ, जसमा ड्राइ फ्रुट्स र नट्सहरू राखिएको हुन्छ ।
अहिले युरोपका पार्कहरूमा बालबालिकाहरू खेलिरहेका देखिन्छन् भने वृद्धवृद्धाहरू चर्चमा गएर प्रार्थना गरिरहेका भेटिन्छन् । परदेशमा रहेका नेपाली समुदायले पनि यस अवसरमा बिदा मनाउने, साथीभाइ भेट्ने र रमाइलो गर्ने गर्छन् । अहिले युरोप बत्तीको उज्यालोले मात्र होइन, मानिसहरूको मनमा छाएको उमङ्गले पनि चम्किलो भएको छ । यो पर्वले सबैमा शान्ति, प्रेम र भाइचाराको सन्देश प्रवाह गरिरहेको छ ।





