Home Login
खेलकुद

क्रिस्टियानो रोनाल्डो २०२६ विश्वकपको पहिलो खेल खेल्न पाउने

पोर्चुगल — पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि लागेको प्रतिबन्धको विषयमा फिफाले अन्तिम निर्णय गरेको छ । यो निर्णयसँगै रोनाल्डो अब २०२६ विश्वकपको मुख्य चरणको आफ्नो पहिलो खेल खेल्न पाउने भएका छन् ।

फिफाको अनुशासन समितिले ४० वर्षीय रोनाल्डोलाई सुरुमा ३ खेलको प्रतिबन्ध सुनाएको थियो । तर, यसमा महत्त्वपूर्ण सर्त राखिएको छ ।

३ खेलमध्ये २ खेलको प्रतिबन्ध ‘निलम्बित’ गरिएको छ । यसको अर्थ, उनले तत्कालका लागि ती २ खेलको सजाय भोग्नु पर्दैन । बाँकी रहेको १ खेलको प्रतिबन्ध उनले पूरा गरिसकेका छन् ।

नोभेम्बर १३ मा ‘रिपब्लिक अफ आयरल्याण्ड’ विरुद्ध भएको युरोपेली छनोट खेलमा रोनाल्डोलाई सिधै रातो कार्ड देखाइएको थियो । उक्त खेलमा पोर्चुगल २-० ले पराजित भएको थियो ।

रातो कार्ड पाएको तीन दिनपछि, पोर्चुगलले आर्मेनियाविरुद्ध खेलेको खेल (जसमा पोर्चुगल ९-१ ले विजयी भयो) मा रोनाल्डो उपस्थित थिएनन् । सोही खेल गुमाएर उनले आफ्नो १ खेलको अनिवार्य प्रतिबन्ध पूरा गरिसकेका छन् ।

यो घटना रोनाल्डोको अन्तर्राष्ट्रिय करियरमा २२६ खेल पछि पहिलो पटक सिधै रातो कार्ड पाएर मैदान बाहिर पठाइएको घटना थियो । पोर्चुगिज फुटबल महासंघ (FPF) ले रोनाल्डोलाई १ भन्दा बढी खेलको प्रतिबन्ध नलागोस् भनेर फिफा समक्ष तर्क पेस गरेको थियो, जसको सुनुवाइ गर्दै यो निर्णय आएको हो ।

कुनै बाधा बाँकी नरहेको हुनाले, क्रिस्टियानो रोनाल्डो २०२६ को विश्वकपमा पोर्चुगलको पहिलो खेलमै मैदानमा उत्रिन पाउनेछन् ।

Leave a Reply