हेलसिंकी — चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चाको शिखरमा पुगेका हास्य कलाकार विशाल गौतम आफ्नो प्रस्तुति लिएर युरोप आउने भएका छन् । आफ्नो विशिष्ट शैलीको ‘एकल हास्य प्रहसन’ का लागि चिनिएका गौतमले आगामी नोभेम्बर र डिसेम्बर महिनामा युरोपका विभिन्न देशहरूमा रहेका नेपाली दर्शकलाई हँसाउने भएका हुन् । उनको यो युरोप भ्रमण मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् ।
गुरुङ केएनएस ईन्टरटेन्मेन्टका सञ्चालक किरण गुरुङका अनुसार, ‘नेपालीभाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने मूल नाराका साथ स्थापना भएका यी दुई संस्थाहरूले लामो समयदेखि युरोपमा विभिन्न नेपाली चलचित्र प्रदर्शन र सांगीतिक कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्दै आएका छन् । “हामी नेपाली कला र संस्कृतिका यी विविध विधाहरूलाई युरोपमा रहेका नेपालीहरूसम्म पुर्याउन प्रतिबद्ध छौं,” सञ्चालक गुरुङले भने, “विशाल गौतमको यो भ्रमण पनि सोही प्रयासको निरन्तरता हो ।” गौतमको यस युरोप भ्रमण कार्यक्रमलाई आयोजकसँगै केन्द्र मोशन पिक्चर्सले समेत साथ दिएको छ ।
आयोजकका अनुसार, विशाल गौतमको युरोप भ्रमणको पहिलो कार्यक्रम फिनल्याण्डको राजधानी हेलसिंकीमा निश्चित भइसकेको छ ।’हाहा हेलसिंकी’ सीमा बिना विशाल नाम दिएको उक्त कार्यक्रम यही नोभेम्बर १७ तारिख सोमबार हेलसिंकीको ‘टिना क्लुबी बोट्टा’ हुने भएको हो । हेलसिंकीको यो विशेष कार्यक्रमपछि गौतमले युरोपका अन्य विभिन्न देशहरूमा समेत आफ्नो प्रस्तुति दिनेछन् । आयोजकका अनुसार विभिन्न देशका सहरहरूमा कार्यक्रमको तयारी भइरहेको छ ।
आयोजकले युरोपका अन्य सहरहरूमा पनि कार्यक्रम गर्न चाहने इच्छुक व्यक्ति वा संस्थाहरूले मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टलाई सिधै सम्पर्क गर्न सक्ने जानकारी दिएका छन् । कमेडी च्याम्पियनबाट उदाएका गौतमको प्रस्तुतिलाई युरोपमा रहेका नेपाली समुदायले व्यग्रताका साथ पर्खिरहेका छन् ।






