संयुक्त अरब इमिरेट्स — युएईले केही महिनादेखि बन्द रहेको नेपाली नागरिकका लागि भिजिट भिसा पुनः खुला गरेको छ । ‘जेनजी आन्दोलन’ पछि युएईले नेपालीको भिजिट भिसा रोक्दै आएको थियो । आन्दोलनका क्रममा जेलबाट फरार भएका व्यक्तिहरू युएई पुगेका हुनसक्ने आशंकाले भिसा रोकिएको बताइए पनि औपचारिक कारण सार्वजनिक गरिएको थिएन ।
आन्दोलनपछि युएईले कामदार भिसामा पनि कडाइ गर्दै नयाँ भिसा जारी रोकेको थियो भने भिसा लागि सकेकाहरूलाई समेत पुलिस रिपोर्ट मागिएको म्यानपावर व्यवसायीहरूले बताएका थिए । युएई नेपालीहरूका लागि प्रमुख रोजगारी गन्तव्य हो र ठूलो संख्यामा नेपालीहरू भिजिट भिसामा त्यहाँ जाने गरेका छन् । हाल युएईमा ५ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ ।





