अन्तर्राष्ट्रिय वाइन र वाइन संगठन (OIV) ले सन् २०२४ को विश्वव्यापी वाइन खपतको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको प्रतिवेदन अनुसार, वाइन संस्कृतिमा युरोपेली राष्ट्रहरूको दबदबा कायमै रहेको छ भने पोर्चुगलले अन्य सबै देशलाई पछि पार्दै शीर्ष स्थानमा आफ्नो वर्चस्व स्थापित गरेको छ ।
विश्वका ठूला अर्थतन्त्र र जनसंख्या भएका देशहरूको तुलनामा साना युरोपेली मुलुकहरूमा वाइन संस्कृति गहिरो गरी जरा गाडेको देखिएको छ ।
यस वर्षको तथ्यांक अनुसार पोर्चुगलका नागरिकहरूले वाइन पिउने मामिलामा विश्वका अन्य सबै देशलाई फराकिलो अन्तरले जितेका छन् । पोर्चुगलमा प्रति व्यक्ति वार्षिक वाइन खपत ६१.१ लिटर रहेको छ, जुन दोस्रो स्थानमा रहेको इटालीको भन्दा झण्डै १९ लिटर बढी हो । यसले पोर्चुगलमा वाइन विलासिताको वस्तु मात्र नभएर दैनिक खानपान र संस्कृतिको अभिन्न अङ्ग बनिसकेको प्रस्ट पार्छ । दोस्रो स्थानमा रहेको इटालीमा प्रति व्यक्ति ४२.७ लिटर र तेस्रो स्थानमा रहेको फ्रान्समा ४१.५ लिटर वाइन खपत हुने गरेको छ ।
सूचीको शीर्ष स्थानहरूमा युरोपेली देशहरूकै एकाधिकार देखिन्छ । स्विट्जरल्याण्ड र अस्ट्रिया क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन्, जहाँका नागरिकले वार्षिक सरदर २९ लिटरको हाराहारीमा वाइन पिउने गर्छन् । वाइन उत्पादनमा विश्व प्रसिद्ध मानिने स्पेन भने खपतको हिसाबले नवौं स्थानमा छ, जहाँ प्रति व्यक्ति २३.८ लिटर मात्र खपत हुन्छ । युरोपबाहिरको कुरा गर्दा, अष्ट्रेलियाले छैटौं स्थान ओगटेको छ, जसको खपत दर जर्मनीसँग बराबर अर्थात् २४.५ लिटर रहेको छ। बेलायत, अर्जेन्टिना र नेदरल्याण्ड्सले पनि शीर्ष १२ भित्र आफ्नो स्थान सुरक्षित गरेका छन् ।
अर्कोतर्फ, विश्वका ठूला शक्ति राष्ट्रहरूमा भने प्रति व्यक्ति वाइन खपतको दर मध्यम वा न्यून देखिएको छ । उत्तरी अमेरिकामा क्यानडाले १३.७ लिटर र संयुक्त राज्य अमेरिकाले ११.८ लिटर खपत गर्दै क्रमशः १४औं र १५औं स्थान ओगटेका छन् । वाइन उत्पादनमा उदाउँदो राष्ट्र मानिने दक्षिण अफ्रिकामा प्रति व्यक्ति ९.२ लिटर खपत छ भने रूसमा यो दर ६.८ लिटरमा सीमित छ ।
जनसंख्याको हिसाबले विशाल एसियाली र दक्षिण अमेरिकी राष्ट्रहरूमा भने वाइन संस्कृति अझै पनि व्यापक बनिसकेको छैन । जापानमा प्रति व्यक्ति वार्षिक २.८ लिटर र ब्राजिलमा १.९ लिटर मात्र वाइन खपत हुने गरेको तथ्यांकले देखाएको छ । सबैभन्दा रोचक कुरा त विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको रहेको छ, जहाँ प्रति व्यक्ति वाइन खपत मात्र ०.५ लिटर रहेको छ ।
यसले चिनियाँ समाजमा अझै पनि अन्य मादक पदार्थको तुलनामा वाइनको प्रभाव निकै कम रहेको वा त्यहाँको विशाल जनसंख्याका कारण औसत दर कम देखिएको संकेत गर्छ ।
सन् २०२४ को यो तथ्यांकले वाइनलाई पश्चिमा, विशेषगरी युरोपेली खानपान संस्कृतिको पर्यायका रूपमा पुनः पुष्टि गरेको छ, जहाँ पोर्चुगल एक्लैले अतुलनीय नेतृत्व गरिरहेको छ ।





