लिस्बन — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले राहदानी आवेदन दिएका सेवाग्राहीहरूका लागि नयाँ सूचना जारी गरेको छ । दूतावासले मंगलबार (२० जनवरी २०२६) एक विज्ञप्ति जारी गर्दै ‘लट ८’ अन्तर्गतका राहदानीहरू तयार भई वितरणका लागि उपलब्ध भएको जानकारी गराएको हो । लामो समयदेखि राहदानीको पखाईमा रहेका आवेदकहरूको राहदानी अब दूतावासमा आइपुगेको छ ।
दूतावासले सार्वजनिक गरेको नामावलीमा आफ्नो नाम समावेश भएका आवेदकहरूले अब कार्यालय खुलेको दिन दिउँसो २ बजेपछि दूतावासको कार्यालयमा उपस्थित भई आफ्नो राहदानी बुझ्न सक्नेछन् । राहदानी लिन जाँदा आवेदकले अनिवार्य रूपमा आफूसँग भएको साविकको (सक्कल) राहदानी र राजस्व तिरेको सक्कल रसिद साथमा लिएर जानुपर्नेछ । राहदानी वितरण कार्य लिस्बनको Rua Pero de Alenquer 29 स्थित दूतावासको कार्यालयबाट हुनेछ ।
यदि कुनै कारणवश आवेदक स्वयं उपस्थित हुन असमर्थ भएमा, वैकल्पिक व्यवस्था समेत गरिएको छ । आवेदकले आफ्नो सक्कल पुरानो राहदानी, राजस्व तिरेको रसिद र वारेसनामा (मञ्जुरीनामा) कागज पठाएर आफ्नो आधिकारिक प्रतिनिधिमार्फत पनि नयाँ राहदानी बुझिलिन सक्ने सुविधा दूतावासले प्रदान गरेको छ ।
यसले काम वा अन्य व्यस्तताका कारण समयमा उपस्थित हुन नसक्नेहरूलाई राहत मिल्ने देखिन्छ ।
वितरण प्रक्रियालाई छिटो र छरितो बनाउन दूतावासले सेवाग्राहीलाई विशेष आग्रह समेत गरेको छ ।
आवेदकहरूले दूतावासको वेबसाइटमा राखिएको लिंकमार्फत ‘लट ८’ को सूची हेर्न सक्नेछन् । सो सूचीमा आफ्नो नाम कुन क्रम संख्या (S.No.) मा छ, सो नम्बर नोट गरेर कर्मचारीलाई जानकारी गराएमा राहदानी खोज्न सजिलो हुने र समयको बचत हुने दूतावासले जनाएको छ ।
सेवाग्राहीको जानकारीका लागि दूतावासले आफ्नो समय तालिका समेत स्पष्ट पारेको छ । कागजात प्रमाणीकरण लगायतका अन्य कन्सुलर सेवाहरू बिहान ९:१५ देखि १:१५ सम्म प्रदान गरिन्छ भने राहदानी वितरण तथा सोसम्बन्धी जानकारीका लागि भने दिउँसो २ बजेपछिको समय निर्धारण गरिएको छ ।
सेवाग्राहीहरूले सोही अनुसार आफ्नो समय व्यवस्थापन गरी दूतावास जान अनुरोध गरिएको छ ।





