Home Login
पोर्चुगल

पोर्चुगलको काभलेइरोमा दाङका युवा प्रशान्त ज्ञवाली मृत

लिस्बन (पोर्चुगल) — युरोपेली मुलुक पोर्चुगलको साओ टिओटोनियो क्षेत्र अन्तर्गत पर्ने काभलेइरोमा बसोबास गर्दै आएका एक नेपाली युवाको दुखद निधन भएको छ । विगत केही समयदेखि सो क्षेत्रमा बस्दै आएका प्रशान्त ज्ञवाली नाम गरेका नेपाली युवाको शव करिब ७ देखि ८ दिन अघि मृत अवस्थामा फेला परेको हो ।

मृतक ज्ञवाली नेपालमा दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर १, पाखापानीका स्थायी बासिन्दा हुनुहुन्थ्यो । हाल करिब ३० वर्ष उमेर पुगेका ज्ञवालीको पोर्चुगल बसाइ भने कष्टकर रहेको पाइएको छ । प्राप्त जानकारी अनुसार, उहाँ कुलतमा फसेका कारण लामो समयदेखि परिवार र समाजबाट टाढा रहँदै बेवारिसे अवस्थामा जीवन बिताइरहनुभएको थियो । उहाँको शव फेला परेपछि स्थानीय नेपाली समुदायमा शोक छाएको छ ।

यस दुखद घटनाको बारेमा जानकारी दिँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष बम बहादुर जि.सीले मृतकको पहिचान र पछिल्लो अवस्थाबारे पुष्टि गर्नुभएको छ । अध्यक्ष जि.सीका अनुसार, घटनाको जानकारी प्राप्त हुनासाथ संघले नेपालस्थित मृतकको परिवारसँग सम्पर्क स्थापित गरिसकेको छ ।

मृतकका परिवारले आफ्नो छोराको शव अन्तिम संस्कारका लागि नेपाल पठाइदिन एनआरएनए पोर्चुगल र सम्बन्धित निकायलाई आग्रह गरेका छन् । परिवारको यो आग्रहसँगै शवलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाउने तयारीका विषयमा छलफल भइरहेको बुझिएको छ । परदेशमा अलपत्र र कष्टकर जीवन बिताउँदा बिताउँदै भएको यो असामयिक निधनले वैदेशिक रोजगारी र बसाइका क्रममा आइपर्ने सामाजिक तथा मानसिक चुनौतीहरूलाई समेत उजागर गरेको छ ।

Leave a Reply