माल्टा — नेपाली सांगीतिक आकाशमा आफ्नो जादुमयी आवाजमार्फत लाखौं दर्शक–श्रोताको मन जित्न सफल युवा पुस्ताका ढुकढुकी गायक सुजन चापागाईं युरोपेली मुलुक माल्टामा गुञ्जिने भएका छन् । विशेषगरी माल्टामा रहेका नेपालीहरूलाई सांगीतिक माहोलमा झुमाउनका लागि प्रतिष्ठित इभेन्ट कम्पनी ‘मगवर्ट प्रोडक्सन’ ले यो विशेष सांगीतिक साँझको आयोजना गरेको हो ।
सन् २०२६ को मार्च महिनामा हुन लागेको यो कार्यक्रम ‘युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६’ अन्तर्गतको एक प्रमुख हिस्सा हो । मगवर्ट प्रोडक्सनको विशेष व्यवस्थापनमा आगामी सन् २०२६ मार्च ६ तारिखका दिन माल्टास्थित चर्चित ‘स्काई क्लब’ मा यो भव्य कार्यक्रम आयोजना हुँदैछ । प्रवासमा रहेर पनि नेपालीपन र नेपाली संगीतलाई माया गर्ने दर्शकहरूका लागि यो कार्यक्रम एक ऐतिहासिक उत्सव बन्ने अपेक्षा गरिएको छ । राति ८ बजेदेखि सुरु हुने यस सांगीतिक माहोलका लागि मगवर्ट प्रोडक्सनले टिकट बुकिङ समेत खुल्ला गरिसकेको जानकारी दिएको छ ।
‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ सहित उपस्थित हुने सुजनले आफ्ना सर्वाधिक लोकप्रिय गीतहरू ‘तीनपाते’, ‘बाफ’, ‘गालापुक्क’ लगायतका दर्जनौँ चर्चित सिर्जनाहरू प्रत्यक्ष प्रस्तुत गर्नेछन् । आफ्ना प्रिय गायकलाई प्रत्यक्ष सुन्न र हेर्न पाइने खबरले माल्टामा रहेका नेपालीहरूमा अहिलेदेखि नै ठूलो उत्साह र उमंग छाएको छ । आयोजक मगवर्ट प्रोडक्सनले यो केवल एउटा कन्सर्ट मात्र नभई, सात समुद्र पार रहेका नेपालीहरूलाई आफ्नो कला, संस्कृति र माटोको सुगन्धसँग पुन: जोड्ने एक सुनौलो अवसर भएको बताएको छ ।
समग्र युरोप टुरका लागि गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र मामा इभेन्ट्सले सहकार्य गरेका छन् भने केन्द्र मोशन पिक्चर्सले मुख्य सहयोगीको भूमिका निर्वाह गरेको छ । तर, माल्टा संस्करणको सम्पूर्ण संयोजन र व्यवस्थापनको जिम्मा भने मगवर्ट प्रोडक्सनले लिएको छ । उत्कृष्ट लाइट, साउन्ड र भव्य स्टेजका साथ दर्शकलाई भरपुर मनोरञ्जन दिने तयारीमा आयोजक संस्था जुटेको छ ।






