नुवाकोट (बेलकोटगढी) — नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ९, सिउरेनीस्थित श्री उज्वलतारा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाकसुट) तथा खेलकुद सामग्री वितरण गरिएको छ । ‘नेपाली जनप्रगतिशिल मञ्च प्रवासी टिम’ र विभिन्न देशमा रहेका समाजसेवी नेपालीहरूको संयुक्त पहलमा हिजो एक औपचारिक कार्यक्रमका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो ।
जाडो मौसममा विद्यार्थीहरूलाई राहत पुगोस् र पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमको प्रमुख आतिथ्यता बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगत गुरुङले ग्रहण गर्नुभएको थियो । त्यस्तै, विशेष अतिथिको रूपमा वडा नं. ९ का वडा अध्यक्ष दुर्गा गजुरेलको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, बाघखोर प्रहरी पोस्टका इन्चार्ज, अभिभावक वर्ग तथा स्थानीय समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सहयोग अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत बालबालिकाहरूका लागि २७ थान न्यानो ट्रयाकसुट र अतिरिक्त क्रियाकलापका लागि २ थान फुटबल वितरण गरिएको छ । यो परोपकारी कार्यका लागि ‘नेपाली जनप्रगतिशिल मञ्च प्रवासी टिम’ मा आबद्ध अस्मि स्याङतान तामाङ (रसुवा उत्तरगया-१, हाल युएई), असिम लोप्चन तामाङ (काभ्रे, हाल स्पेन), सञ्जाल किराँती (खोटाङ, हाल कोरिया), सुरज किराँती (उदयपुर, हाल कोरिया), तारा मिलन मगर (कास्की, हाल अमेरिका) र मकर मोक्तान तामाङ (सिन्धुपाल्चोक, हाल युएई) ले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।
त्यसैगरी, नेपालबाटै पनि बेलकोटगढी-४ नुवाकोटकी समिता तामाङ, खोटाङ घर भई हाल काठमाडौं बस्ने रमिला बुढाथोकी, नुवाकोट ककनी गाउँपालिकाका प्रताप थिङ तामाङ र लाङटाङ खबरका संस्थापक एवं नेपाल एक्टिभ प्रोडक्सन प्रा.लि. का सीईओ लोकेन्द्र तामाङ (रसुवा उत्तरगया-२) लगायतको समूहले यस अभियानमा सक्रिय भूमिका निर्वाह गरेको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रमपछि बोल्दै आयोजक समूहले यस पवित्र कार्यमा साथ दिने सबै सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गरेको छ । विशेषगरी, अभियानलाई सफल पार्न समन्वय र साथ दिनुहुने राजकुमार तामाङप्रति आयोजक टिमले विशेष आभार प्रकट गरेको छ । कार्यक्रमको अन्त्यमा आयोजक तथा सहयोगी दाताहरूले विद्यालय परिवारले कार्यक्रम व्यवस्थापनमा पुर्याएको सहयोगप्रति पनि धन्यवाद व्यक्त गरेका थिए ।






