लिस्बन (पोर्चुगल) — तामाङ समुदायको महान् तथा ऐतिहासिक सांस्कृतिक पर्व सोनाम ल्होछारको पावन अवसरमा नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले लिस्बनमा ऐतिहासिक एवं बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले घेदुङले शुभकामना आदानप्रदान सहितको विशेष सांगीतिक साँझको तयारी गरेको हो ।
यस वर्षको ल्होछार कार्यक्रम पोर्चुगलबासी नेपालीहरूका लागि निकै विशेष हुने देखिएको छ । कार्यक्रमलाई भव्यता प्रदान गर्न नेपालका ख्यातिप्राप्त गायक तथा ‘राई इज किङ’ का रूपमा परिचित राजेश पायल राई विशेष प्रस्तुतिका साथ लिस्बन आउने भएका छन् । आफ्नो दमदार आवाज र चर्चित गीतहरूमार्फत देश-विदेशमा लाखौं प्रशंसक कमाउन सफल राईको उपस्थितिले कार्यक्रममा रौनक थप्ने निश्चित छ ।
उनीसँगै चर्चित रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ का लोकप्रिय प्रतियोगी गायक नवाङ लामाले पनि पहिलो पटक पोर्चुगलको मञ्च तताउने छन् । लामाको बेजोड सांगीतिक प्रस्तुतिमा दर्शकहरू छमछमी नाच्ने र भरपुर मनोरञ्जन लिने आयोजकले विश्वास व्यक्त गरेको छ ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले दिएको जानकारी अनुसार, यी दुई मुख्य कलाकारका अलावा अन्य स्थानीय तथा चर्चित कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ । कार्यक्रमले केवल मनोरञ्जन मात्र प्रदान नगरी, विदेशको भूमिमा तामाङ जातिको मौलिक भेशभूषा, भाषा र संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्य राखेको छ । प्रवासमा बस्ने नयाँ पुस्तालाई आफ्नो जरा र पहिचानसँग जोड्न यस्ता कार्यक्रमहरू कोसेढुङ्गा सावित हुने आयोजकको भनाइ छ ।
यो बृहत सांस्कृतिक कार्यक्रम आगामी जनवरी २५ तारिख, आइतबारका दिन आयोजना गरिनेछ । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित प्रसिद्ध कार्यक्रम स्थल ‘रिपब्लिका द मुसिका’ (Republica da Musica) मा हुने तय भएको छ । विदाको दिन पारेर आयोजना गरिएको यस कार्यक्रममा पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई सोनाम ल्होछारको शुभकामना साटासाट गर्न र सांगीतिक माहोलमा रमाउन आयोजक संस्थाले हार्दिक अपिल समेत गरेको छ ।






