Home Login
प्रवास

पोर्चुगलमा ‘आँधी क्रिस्टिन’ को वितण्डा; लेइरिया र कोइम्ब्रामा व्यापक क्षति

लिस्बन (पोर्चुगल) पोर्चुगलको मुख्य भूभागमा आज बिहानैदेखि ‘आँधी क्रिस्टिन’ ले ठूलो विनाश निम्त्याएको छ ।

राष्ट्रिय आपतकालीन तथा नागरिक सुरक्षा प्राधिकरण (ANEPC) र अन्य निकायहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार, आज (जनवरी २८) मध्यरातदेखि बिहान ९:०० बजेसम्मको छोटो अवधिमा नै खराब मौसमसँग सम्बन्धित करिब २ हजार १ सय ५० घटनाहरू दर्ता भइसकेका छन् । अधिकारीहरूले यो सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्, किनकि धेरै स्थानबाट क्षतिको विवरण आउने क्रम जारी छ ।

आँधीको सबैभन्दा ठूलो प्रभाव देशको पश्चिमी क्षेत्र, विशेष गरी लेइरिया कोइम्ब्रा जिल्लाहरूमा देखिएको छ । ANEPC का अनुसार, आँधीको मार्गले यी क्षेत्रहरूमा जनजीवन अस्तव्यस्त बनाएको छ ।

हावाहुरीका कारण ठाउँ-ठाउँमा बिजुली र टेलिफोन सञ्चार पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडकहरूमा ठूला-ठूला रूखहरू ढलेका छन् भने विभिन्न भौतिक संरचनाहरू भत्किएर यातायात सञ्जाल ठप्प भएको छ ।

विडम्बनाको कुरा के छ भने, आपतकालीन अवस्थामा सर्वसाधारणलाई मद्दत गर्ने निकायहरू स्वयम् पनि यस प्रकोपको शिकार भएका छन् । पोम्बल, पेड्रोगाओ, लेइरिया र पेनेला (कोइम्ब्रा) का अग्नि नियन्त्रण विभागका स्टेशनहरूमा समेत आँधीले क्षति पुर्‍याएको छ, जसले गर्दा प्रारम्भिक उद्धार कार्यमा चुनौती थपिएको छ ।

सार्वजनिक सुरक्षा प्रहरी (PSP) ले लेइरियाको अवस्थालाई “अत्यन्तै कठिन” भनी चित्रण गरेको छ । त्यहाँ ढलेका रूखहरूले सडक बन्द गरेका छन् भने ग्यास स्टेशनहरू लगायतका महत्वपूर्ण पूर्वाधारहरू नष्ट भएका छन् । यस गम्भीर स्थितिलाई मध्यनजर गर्दै, PSP ले तत्कालै आफ्नो हस्तक्षेप एकाइका तीस जना सदस्यहरूको विशेष टोलीलाई लेइरिया पठाएको छ । यो टोलीले प्रभावित क्षेत्रमा पुगेर जोखिममा परेका नागरिकहरूको सुरक्षा र उद्धार कार्यमा स्थानीय संयन्त्रलाई सघाउनेछ ।

पोर्चुगलको मौसम विज्ञान तथा भूभौतिकी संस्थान (IPMA) ले रातभरको मौसमको तथ्याङ्क सार्वजनिक गर्दै हावाको गति निकै भयावह रहेको बताएको छ ।

तथ्याङ्क अनुसार, काबो कार्भोइरो (पेनिचे) मा प्रतिघण्टा सय ५० किलोमिटर र लेइरिया एयरोड्रोममा सय ४२ किलोमिटरप्रतिघण्टाको वेगमा हावा चलेको रेकर्ड गरिएको छ । त्यस्तै, एन्सियाओमा १४६ किलोमिटर प्रतिघण्टाको गति मापन गरिएको थियो ।

आँधीको प्रभाव अल्गार्वे क्षेत्रमा पनि महसुस गरिएको थियो, जहाँ फारोमा १ सय किलोमिटर र अल्गार्वेका पहाडी भेगहरूमा १ सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो ।

अहिले पनि मौसम पूर्ण रूपमा शान्त भइनसकेको र उद्धार कार्य जारी रहेकोले नागरिकहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

Leave a Reply