लिस्बन (पोर्चुगल) — तामाङ समाज पोर्चुगलले नेपाली तामाङ समुदायको महान् पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी गरेको छ ।
मन्जुश्री संवत २८६२ ‘ताल्हो’ अर्थात् घोडा वर्गको पावन अवसर पारेर समाजले शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक साँझको आयोजना गर्न लागेको हो । प्रवासमा रहेर पनि आफ्नो मौलिक हक, हित र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ ।
यस विशेष सांस्कृतिक उत्सवलाई उल्लासमय र भव्य बनाउनका लागि नेपालका चर्चित तथा लोकप्रिय आधुनिक गायक अभिनाश घिसिङ मुख्य आकर्षणका रूपमा रहनेछन् ।
गायक घिसिङले आफ्ना दर्जनौँ लोकप्रिय तथा मौलिक गीतहरू मार्फत कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मनोरञ्जन प्रदान गर्दै छमछमी नचाउने छन् । साथै, कार्यक्रममा पोर्चुगलमा रहेका अन्य स्थानीय कलाकारहरूले समेत आ-आफ्नो सांगीतिक तथा नृत्य प्रतिभा प्रस्तुत गरी कार्यक्रममा थप रौनक थप्ने बताइएको छ ।
कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै तामाङ समाज पोर्चुगलका अध्यक्ष कुमार सि बल तामाङले यो केवल मनोरञ्जन मात्र नभई नेपालीपन जोगाउने अभियान भएको बताए । ‘युरोपाटी’ सँगको संक्षिप्त कुराकानीका क्रममा अध्यक्ष तामाङले विशेषगरी नेपाली मौलिकता, भेषभुषा, भाषा र परम्परालाई प्रवासमा पनि प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको जानकारी दिए । उनले आफ्नो संस्कार र संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न यस्ता पर्वहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
समाजले यस कार्यक्रमलाई सफल पार्न पोर्चुगलमा क्रियाशील सम्पूर्ण नेपाली संघ-संस्थाहरू, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार एवं नेपाली पर्व र संस्कृतिलाई माया गर्ने सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ । यो भेलाले विदेशमा रहेका नेपालीहरू बीचको आपसी भाइचारा, एकता र सद्भावलाई अझ प्रगाढ बनाउने अपेक्षा आयोजकको छ ।
उक्त बृहत सांस्कृतिक कार्यक्रम आगामी जनवरी २५ तारिख, आइतबारका दिन लिस्बनस्थित ‘Lisboa Ao Vivo Chelas’ मा आयोजना हुनेछ । बिहान ११ बजेदेखि औपचारिक रूपमा सुरु हुने यो कार्यक्रम राति २ बजेसम्म निरन्तर चल्नेछ, जहाँ सहभागीहरूले दिनभर विविध सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुतिको भरपुर आनन्द लिन सक्नेछन् ।






