साइप्रस — ‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन’ भन्ने मूल नाराका साथ साइप्रसमा सक्रिय संस्था नेपाल तामाङ घेदुङले आफ्नो ऐतिहासिक एवं मौलिक पर्व २८६२औं सोनाम ल्होछार मनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको छ । प्रवासमा रहेर पनि आफ्नो पुर्ख्यौली धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्ने पवित्र उद्देश्यले संस्थाले यही आउँदो फेब्रुअरी ८ तारिखका दिन एक विशेष समारोहको आयोजना गर्न लागेको हो ।
तामाङ समुदायको महान् सांस्कृतिक राष्ट्रिय पर्वका रूपमा रहेको यस उत्सवले यसपटक पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्नेछ । मञ्जुश्री सम्वत् २८६१ को ‘डुल/सा पुख्री’ ल्हो अर्थात् सर्प वर्गलाई बिदाइ गर्दै, नयाँ वर्ष मञ्जुश्री सम्वत् २८६२ ‘ता ल्हो’ अर्थात् घोडा वर्गलाई उल्लासका साथ स्वागत गर्न साइप्रसबासी नेपालीहरू आतुर देखिएका छन् । कार्यक्रम लिमासोलमा रहेको ‘नियो फियस्टा हल’ मा आयोजना गरिनेछ ।
यसपटकको ल्होछार विशेष कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालबाट चर्चित सेलो गायक, वरिष्ठ संगीतकार तथा गीतकार विश्व दोङको उपस्थिति रहनेछ । उहाँको विशेष सांगीतिक प्रस्तुतिले प्रवासको भूमिमा पनि नेपालीपन र तामाङ सेलोको रौनक थप्ने विश्वास आयोजकले लिएको छ । संस्थाका अध्यक्ष प्रदीप घलान तामाङका अनुसार, कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारको मात्र नभई, संस्थागत रूपमा मौलिक तामाङ सांस्कृतिक गीत, परम्परागत नृत्य तथा वाद्यवादनका प्रस्तुतिहरू पनि समेटिनेछन् ।
कार्यक्रमलाई अझ बढी समावेशी र आकर्षक बनाउनका लागि आयोजकले विशेष ध्यान दिएको छ । यस अवसरमा विभिन्न जातीय संघ-संस्थाहरूका मौलिक झाँकी र नृत्यहरू प्रदर्शन गरिनुका साथै, साइप्रसमा नै बसोबास गर्दै आउनुभएका दर्जनौं स्थानीय प्रतिभाशाली कलाकारहरूको समेत बेजोड प्रस्तुति रहनेछ। यसले कार्यक्रमलाई विविधतामा एकताको सन्देश दिने थलोका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।
फेब्रुअरी ८ तारिख बिहान १० बजेदेखि सञ्चालन हुने यस बृहत् सांस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि प्रतिव्यक्ति २० युरो प्रवेश शुल्क तोकिएको छ । आयोजकले दर्शकहरूको सुविधालाई ध्यानमा राख्दै साइप्रसका विभिन्न शहरहरूबाट कार्यक्रम स्थलसम्म आउन र जानका लागि यातायात (बस) को समेत उचित व्यवस्था गरेको जनाएको छ ।






