निकोसिया (साइप्रस) — साइप्रस सरकारले बुधबार बिहान लेबनानको आकाश नजिकै एउटा ‘शंकास्पद वस्तु’ फेला परेको जानकारी दिएपछि यस क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । सरकारी प्रवक्ताका अनुसार उक्त वस्तुको प्रकृति र त्यसबाट हुन सक्ने सम्भावित खतराको गम्भीर अनुसन्धान भइरहेको छ ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले पूर्वसावधानी स्वरूप तत्कालका लागि सबै आवश्यक सुरक्षा उपायहरू अवलम्बन गर्ने निर्णय गरेको हो ।
यसैबीच, समाचार एजेन्सी रोयटर्सले साइप्रस सरकारलाई उद्धृत गर्दै सुरक्षा चुनौतीका कारण लार्नाका अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरिएको जनाएको छ । विमानस्थल बन्द गरिएसँगै त्यहाँबाट हुने र त्यहाँ अवतरण गर्ने दर्जनौँ उडानहरू रद्द भएका छन् । सुरक्षाको गम्भीरतालाई यस कुराले पनि पुष्टि गर्छ कि ग्रिसको एथेन्सबाट साइप्रसका लागि उडेको एउटा यात्रुवाहक विमानलाई बीच बाटोबाटै फिर्ता पठाइएको छ । अचानक उडानहरू रोकिएपछि विमानस्थलमा हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।
यो घटना यस्तो समयमा भएको हो जब इरान र इजरायल–अमेरिकाबीचको जारी द्वन्द्वका कारण मध्यपूर्व र आसपासका क्षेत्रमा पहिलेदेखि नै तनाव चरम अवस्थामा छ । केही दिनअघि मात्रै साइप्रसमा रहेका बेलायती सैन्य आधार शिविरहरूलाई लक्षित गरी ड्रोन आक्रमण भएको थियो । उक्त आक्रमणको केही समयपछि नै फेरि शंकास्पद वस्तु फेला पर्नुले यस क्षेत्रको सुरक्षा चुनौतीलाई थप जटिल बनाएको छ । हाल सुरक्षा निकायहरूले उक्त वस्तुको पहिचान गर्ने काम जारी राखेका छन् र स्थिति स्पष्ट नभएसम्म हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध कायमै रहने देखिएको छ ।





