Home Login
साईप्रस

ट्रम्पको ‘शान्ति परिषद्’ पहल ; साइप्रस र ग्रीसलाई निम्तो

साइप्रस — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको समस्या समाधान र पुनर्निर्माणमा केन्द्रित रहँदै आफ्नो पहिलो ‘शान्ति परिषद्’ बैठकको आयोजना गर्ने भएका छन् । यस विशेष बैठकका लागि उनले साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडौलिड्स र ग्रीस प्रधानमन्त्री किरियाकोस मिट्सोटाकिसलाई वाशिङ्गटन आमन्त्रित गरेका छन् । आगामी फेब्रुअरी १९ मा हुने तय भएको यो बैठकलाई अमेरिकी प्रशासनले मध्यपूर्वमा शान्ति स्थापनाको महत्त्वपूर्ण प्रयासका रूपमा अघि बढाएको छ ।

युरोपेली संघ (ईयु) का अधिकांश सदस्य राष्ट्रहरूले सुरुमा यो पहललाई अस्वीकार गरे पनि राष्ट्रपति ट्रम्पले हंगेरी र बुल्गेरियाबाहेकका अन्य देशहरूले पनि आफ्नो निर्णयमा पुनर्विचार गर्ने आशामा निमन्त्रणा प्रक्रिया जारी राखेका छन् ।

अमेरिकी अधिकारीका अनुसार, ग्रीस र साइप्रसका नेताहरूलाई औपचारिक निमन्त्रणा पठाइसकिएको छ र उनीहरूले यस विषयमा केही दिनभित्रै निर्णय लिने अपेक्षा गरिएको छ । एथेन्सले हाल गाजाको पुनर्निर्माणसम्बन्धी शान्ति योजनाको दोस्रो चरणमा सहभागी हुन आएको प्रस्तावको गम्भीरतापूर्वक मूल्याङ्कन गरिरहेको छ ।

वासिङ्गटनले यो बैठकलाई फराकिलो कूटनीतिक मञ्च बनाउने उद्देश्यले युरोपभित्रका स्पेन, जर्मनी, इटाली, फ्रान्स लगायतका देशहरूका साथै युरोपबाहिरका साउदी अरेबिया, कतार, भारत, टर्की, जापान, बेलायत, इजिप्ट लगायत दुई दर्जनभन्दा बढी राष्ट्रहरूलाई निमन्त्रणा पठाएको छ । यस पहलको मुख्य उद्देश्य गाजामा युद्धपछिको पुनर्निर्माण र मानवीय सहायताको व्यवस्थापन गर्नु रहेको बताइएको छ ।

बैठकको मिति नजिकिँदै गर्दा विश्व समुदायको ध्यान भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान एउटै मञ्चमा देखिनेछन् कि छैनन् भन्नेमा केन्द्रित भएको छ । नेतान्याहूले ट्रम्पसँगको आफ्नो भेटको तालिका परिवर्तन गरी फेब्रुअरी ११ का लागि सारेका छन् । उनले १९ तारिखको शान्ति परिषद्मा आफ्नो सहभागिताबारे अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन्, जसले बैठकको समीकरणलाई अझ कौतूहलपूर्ण बनाएको छ ।

Leave a Reply