Home Login
संघ-संस्था

पोर्चुगलमा नेपाली कला र एकताको उत्सव ; इनासद्वारा भव्य कार्यक्रम सम्पन्न

लिस्बन (पोर्चुगल) अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलले राजधानी लिस्बनमा एक भव्य समारोहका बीच आफ्नो “परिचय तथा आधिकारिक प्रमाणपत्र वितरण कार्यक्रम २०२६” सफलतापूर्वक सम्पन्न गरेको छ । संस्थाको पुनर्गठनपश्चात् आयोजना गरिएको यो पहिलो औपचारिक कार्यक्रमले पोर्चुगलमा रहेका नेपाली समुदायबीच एकता, नयाँ उत्साह र सांस्कृतिक प्रतिबद्धताको बलियो सन्देश प्रवाह गरेको छ ।

राजधानी लिस्बनस्थित ‘लभ लिस्बन रेस्टुरेन्ट’ हलमा आयोजित उक्त विशेष समारोहको अध्यक्षता इनास पोर्चुगलका अध्यक्ष नृपध्वज खत्री “निरिप” ले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित पोर्चुगलका लागि नेपालका राजदूत महामहिम प्रकाशमणि पौडेलले नेपाली कला र संस्कृतिको संरक्षणमा प्रवासमा रहेका कलाकारहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रमको उद्घाटन इनास ग्लोबलका अध्यक्ष अर्जुन काफ्ले र गैरआवासीय नेपाली संघ (NRNA) पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमालले विशेष अतिथिको रूपमा गर्नुभएको थियो ।

समारोहमा संस्थाको नवनिर्वाचित कार्यकारी समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई आधिकारिक प्रमाणपत्र र परिचयपत्र वितरण गरिएको थियो । सो अवसरमा विभिन्न सामाजिक तथा वैचारिक संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

अतिथिहरूमा ठकुरी समाज पोर्चुगलका अध्यक्ष सज्जन हमाल ठकुरी, इनास सल्लाहकारहरू भावेश बस्नेत र दुर्गा पंगेनी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) पोर्चुगलका अध्यक्ष एन.बी. अन्जन, नेप्लिज वोमन एसोशियसनकी अध्यक्ष गीता रेउले, र नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव कलश खरेल सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी, सुदूरपश्चिम समाजका अध्यक्ष दिपेश विष्ट, राष्ट्रिय तामाङ घेदुङ संघका अध्यक्ष इमान तामाङ, र पत्रकार महासंघ युरोप शाखाका सचिव एवं युरोपाटीका सम्पादक पुस्तक रेग्मी लगायतका व्यक्तित्वहरूले कार्यक्रममा ऐक्यवद्धता जनाउनुभएको थियो । सोही अवसरमा पत्रकार पुस्तक रेग्मीलाई संस्थाको मिडिया संयोजकको रूपमा चयन गर्दै आधिकारिक प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

औपचारिक सेरोफेरोसँगै कार्यक्रममा प्रस्तुत गरिएका जीवन्त सांस्कृतिक प्रस्तुतिहरूले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । कलाकारहरू रिया श्रेष्ठ, सन्नी शाही र मोना राईले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने सन्तोष अधिकारी, गीता रेउले, गीता लामा र रितिका कुँवरको सुमधुर गायनले कार्यक्रमको रौनकता थपेको थियो ।

जीसीआर प्रतिनिधि सुनील गिरीले कुशलतापूर्वक सञ्चालन गर्नुभएको यस कार्यक्रमले इनास पोर्चुगलको भावी कार्यदिशालाई स्पष्ट पारेको छ । त्यस्तै संस्थाको महासचिव हरि सिलवालले स्वागत मन्तव्य राख्दै, इनासको बारेमा स्पष्ट पार्नुभएको थियो । नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने दृढ संकल्पका साथ सम्पन्न यस कार्यक्रमले प्रवासमा नेपाली पहिचानलाई थप सुदृढ बनाउन र समुदायबीच सहकार्यको वातावरण निर्माण गर्न एउटा महत्वपूर्ण मञ्चको रूपमा काम गरेको आयोजक पक्षले जनाएको छ ।

Leave a Reply