Home Login
प्रवास

लिस्बन फ्युनिकुलर दुर्घटना ; ६ महिना बित्दा पनि पीडितले पाएनन् क्षतिपूर्ति

पोर्चुगल — पोर्चुगलको राजधानी लिस्बनमा भएको प्रख्यात ‘ग्लोरिया फ्युनिकुलर’ दुर्घटनाको ६ महिना बितिसक्दा पनि पीडित र उनीहरूका परिवारले अझै पूर्ण रूपमा क्षतिपूर्ति पाउन सकेका छैनन् । पर्यटकहरूमाझ निकै लोकप्रिय रहेको उक्त फ्युनिकुलर गत सेप्टेम्बर ३ तारिखमा लिकबाट बाहिरिएर एउटा भवनमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको थियो ।

यस दुखद घटनामा परी १६ जनाको ज्यान गएको थियो भने पोर्चुगिज र विदेशी नागरिक गरी २० भन्दा बढी घाइते भएका थिए । बीमा कम्पनी ‘फिडेलिडेड’ का अनुसार यस घटनामा कुल ४० जना पीडित भएको आधिकारिक तथ्यांक छ । कम्पनीले पीडित र उनीहरूका परिवारको अवस्थालाई नजिकबाट नियालिरहेको र कानुनबमोजिम क्षतिपूर्तिको सम्पूर्ण प्रक्रिया पूरा गर्ने आश्वासन दिएको छ ।

क्षतिपूर्ति वितरणको प्रक्रिया हाल विभिन्न चरणमा रहेको सम्बन्धित अधिकारीहरूले बताएका छन् । कतिपय अवस्थामा क्षतिपूर्तिको सम्झौता भइसकेको छ भने केहीमा कानुनी कागजातहरूको पर्खाइ भइरहेको छ । विशेषगरी शारीरिक चोटपटक लागेका घाइतेहरूको हकमा, उनीहरूको स्वास्थ्य अवस्था पूर्ण रूपमा स्थिर नभएसम्म अपाङ्गताको मूल्याङ्कन र क्षतिपूर्तिको अन्तिम हिसाब गर्न नमिल्ने भएकाले प्रक्रियामा केही ढिलाइ भएको हो ।

यातायात सञ्चालक कम्पनी ‘कारिस’ सँग ५ करोड युरो (५० मिलियन युरो) बराबरको बीमा सम्झौता रहेको उल्लेख गर्दै बीमा कम्पनीले समय जतिसुकै लागे पनि पूर्ण रूपमा क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसैबीच, दुर्घटनापछि बन्द रहेको अर्को एक फ्युनिकुलर भने आगामी महिनादेखि पुनः सञ्चालनमा आउने खबर सार्वजनिक भएको छ ।

Leave a Reply