लिस्बन (पोर्चुगल) — नेप्लिज वोमन एसोशियसन पोर्चुगलको आयोजनामा पोर्चुगलमा कार्यरत आप्रवासी नेपाली श्रमिक तथा कामदारहरूका विविध समस्या र समसामयिक अवस्थाका बारेमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत फेब्रुअरी २३ सोमबारका दिन आयोजित उक्त कार्यक्रमको सभापतित्व एसोसिएसनकी अध्यक्ष गिता रेउलेले गर्नुभएको थियो भने महासचिव सरस्वती गौतमले कार्यक्रम सञ्चालन र वरिष्ठ उपाध्यक्ष कला पङ्गेनीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रवासमा रहेका नेपालीहरूको वास्तविक अवस्था बुझ्ने र उनीहरूका समस्यालाई नीतिगत तहसम्म पुर्याउने उद्देश्यले आयोजित यस कार्यक्रममा विज्ञ तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख्य वक्ताका रूपमा युकेस्थित कोभेन्ट्री विश्वविद्यालयकी प्रोफेसर क्याथरिन जोन्स, नेपाल सामाजिक तथा वातावरणीय अनुसन्धान संस्थान (NISER) का निर्देशक डा. अनिता घिमिरे र EVI MIG प्रोजेक्टकी सल्लाहकार डा. मीना पौडेलले आप्रवासी श्रमिकका चुनौती र अवसरहरूबारे प्रकाश पार्नुभएको थियो । प्रोफेसर जोन्सले यस कार्यक्रमको मुख्य ध्येय प्रवासमा रहेका नेपाली श्रमिकहरूको अवस्थाबारे गहन अध्ययन र अनुसन्धान गरी प्राप्त तथ्यहरूलाई नीति निर्माणको तहमा प्रतिवेदनका रूपमा बुझाउनु रहेको जानकारी दिनुभयो । विज्ञहरूले यस्ता अध्ययनले भविष्यमा श्रमिकका हकहित सुरक्षित गर्न र कानुनी जटिलता सुल्झाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा पोर्चुगलमा रहेका विभिन्न क्षेत्रका श्रमिक तथा सामाजिक अगुवाहरूले आफ्ना भोगाइ, समस्या र सम्भावित समाधानका उपायहरू प्रस्तुत गरेका थिए । एनआरएनए युरोप क्षेत्रका उपसंयोजक रोबोट लिम्बू, आइसीसी सदस्य राजकुमार थापा, एनसीसी पोर्चुगलका पूर्व अध्यक्ष रविन अधिकारी, वरिष्ठ उपाध्यक्ष सुरज बिष्ट, उपाध्यक्ष नृपेश गिरी लगायतले प्रवासमा नेपालीहरूले भोग्नुपरेका प्रशासनिक र सामाजिक झमेलाहरूका बारेमा धारणा राख्नुभएको थियो । यस्तै, विभिन्न राजनीतिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरू नवीन थापा, अर्जुन अर्याल, विपीन अर्याल, सज्जन हमाल, प्रविधि क्षेत्रकी श्रेया निरौला, ब्रम्हाकुमारी राजयोगकी शान्ता थापा र देवी घिमिरे लगायतले आप्रवासी नेपालीहरूको एकता र अधिकारका पक्षमा बोल्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा संस्थाको तर्फबाट अतिथिका रूपमा उपस्थित प्रोफेसर क्याथरिन जोन्स, डा. मीना पौडेल र डा. अनिता घिमिरेलाई उहाँहरूको योगदानको कदर गर्दै सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । सहभागीहरूले यस प्रकारको अन्तरक्रियाले नेपाली श्रमिकका अदृश्य समस्याहरूलाई उजागर गर्न र उनीहरूको जीवनस्तर सुधारका लागि आवश्यक नीति बनाउन राज्यलाई दबाब पुग्ने अपेक्षा राखेका छन् ।





