साइप्रस — साइप्रसको पर्यटन क्षेत्रका लागि सन् २०२५ अहिलेसम्मकै सबैभन्दा सफल र ऐतिहासिक वर्ष सावित भएको छ । पर्यटन उपमन्त्री कोस्टास कौमिसले बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा यस वर्ष साइप्रसले पर्यटनका सबै पुराना रेकर्डहरू तोड्दै नयाँ उचाइ कायम गरेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पटक देशमा पर्यटक आगमनको संख्या ४.५ मिलियन पुगेको छ, जसले साइप्रसको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको छ ।
तथ्याङ्कअनुसार सन् २०२५ को पर्यटक आगमन सन् २०२४ को तुलनामा १२.२ प्रतिशतले बढी हो भने तीन वर्षअघिको तुलनामा यो संख्या ४१.६ प्रतिशतले वृद्धि भएको छ । आगमनमा भएको यस वृद्धिले पर्यटन राजस्वमा पनि निकै सकारात्मक प्रभाव पारेको छ । जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा पर्यटन राजस्व अघिल्लो वर्षको तुलनामा १५.३ प्रतिशतले बढेको छ । गत तीन वर्षको तथ्याङ्कलाई हेर्दा राजस्वमा ५१.१ प्रतिशतको विशाल वृद्धि देखिएको छ, जसले गर्दा सन् २०२३ देखि २०२५ सम्मको कुल वैदेशिक मुद्रा प्राप्ति ९.९ बिलियन युरो पुगेको छ ।
यस वर्ष साइप्रस भ्रमण गर्ने पर्यटकहरूको खर्च गर्ने क्षमतामा पनि सुधार आएको पाइएको छ । सन् २०२४ मा प्रति पर्यटक औसत खर्च ७९९ युरो रहेकोमा २०२५ मा यो बढेर ८२२ युरो पुगेको छ । त्यस्तै, पर्यटकको दैनिक खर्च पनि ७.२ प्रतिशतले बढेर ९९.५ युरो पुगेको छ । यद्यपि पर्यटकहरूको बसाइ अवधिमा सामान्य गिरावट आई औसत ८.२७ दिन कायम भएको छ, तर पर्यटकको संख्या धेरै भएकाले कुल रात्रिकालीन बसाइको संख्या १८.५ मिलियन पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्ष १७.९ मिलियन मात्र थियो ।
देशको कुल गार्हस्थ्य उत्पादन (GDP) मा पर्यटनको हिस्सा अघिल्लो वर्षको १३.१ प्रतिशतबाट बढेर २०२५ मा १४ प्रतिशत पुगेको छ । मन्त्री कौमिसका अनुसार पर्यटन क्षेत्रको यही मजबुतीका कारण साइप्रसको अर्थतन्त्र सन् २०२५ मा ३.७५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ, जुन युरोजोनको औसत १.५ प्रतिशत वृद्धिको तुलनामा निकै उत्साहजनक हो ।
यस वर्षको अर्को रोचक पक्ष भनेको क्रूज पर्यटनमा देखिएको असाधारण वृद्धि हो । सन् २०२४ मा १ लाख ३६ हजार रहेको क्रूज यात्रीको संख्या २०२५ मा दोब्बरभन्दा बढीले वृद्धि भई २ लाख ७८ हजार पुगेको छ । साथै, ग्रामीण क्षेत्रको पर्यटन अर्थात् कृषि पर्यटनमा पनि आकर्षण बढेको छ । ग्रामीण भेगका आवासहरूमा पर्यटकको आगमन ९० हजार नाघेको छ, जुन तीन वर्षको तुलनामा ४० प्रतिशतभन्दा बढीको वृद्धि हो ।
सरकारले अबको ध्यान पर्यटकको संख्यामा मात्र नभई गुणस्तरमा पनि केन्द्रित गरेको छ । यसका लागि सन् २०२५ मा विभिन्न १३ वटा प्रोत्साहन योजनाहरू सञ्चालनमा ल्याइएका छन् । विशेष गरी ग्रामीण र हिमाली क्षेत्रको पुनरुत्थानका लागि १५३ वटा योजना र ग्रामीण क्षेत्रका ४८ वटा होटलहरूको स्तरोन्नतिका लागि ठुलो रकम लगानी गरिँदैछ । यसका साथै, सात वर्षपछि टुर गाइड स्कूल पुनः सुरु गर्ने र ‘राष्ट्रिय पर्यटन रणनीति २०३५’ लाई अद्यावधिक गर्ने काम पनि अघि बढेको छ ।
भविष्यको योजनाका बारेमा बोल्दै उपमन्त्री कौमिसले सन् २०२६ मा साइप्रसले युरोपेली संघ (ईयू) को परिषद्को अध्यक्षता गर्ने र सो क्रममा ३० हजारभन्दा बढी प्रतिनिधिहरूलाई आतिथ्य प्रदान गर्ने तयारी भइरहेको बताउनुभयो । इजरायल र साउदी अरेबियासँग भएका पछिल्ला समझदारी पत्रले आगामी वर्षहरूमा पनि पर्यटन आगमन अझै बढ्ने सङ्केत देखाएको छ ।





