स्पेन अशिम, लोप्चन । गायक यम बराल यतिबेला स्पेनको कोस्टाब्लांका क्षेत्रमा नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय कोस्टाब्लाङ्काको संयुक्त आयोजनामा हुने ‘नयाँ वर्ष शुभकामना धमाका’ सांगीतिक कार्यक्रममा भाग लिन आएका छन्।
यसअघि, ७ तारिख सोमबार पोर्चुगलको लिस्बनको प्रतिष्ठित ‘रिपब्लिका दा म्यूजिका’ कन्सर्टमा नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गरेपछि, अब उनले कोस्टाब्लाङ्का क्षेत्रभरि छरिएर बसोबास गरिरहेका नेपालिहरूसँग सांगीतिक आनन्द साझा गर्न तयारी गर्दैछन्।
आगामी १३ अप्रिल, आईतवार बेलुका १० बजेबाट होटेल मारिना बेनिड्रममा हुने कार्यक्रमको प्रमुख आकर्षण गायक यम बरालको प्रस्तुति हुनेछ। उनले “बादलुको घुम्टोले”, “निष्ठुरीले छाडेर गइहाली”, “मन रहे पो मायाप्रीति”, “सनम माया लाको” जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाउनेछन्।
कार्यक्रमको स्वागतका लागि एनआरएनए स्पेनका उपाध्यक्ष सुरेन्द्र भुजेल थापा, उपमाहसचिव केशवराज कडेल, सचिव सन्तोष अर्याल, रितेश श्रेष्ठ, नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काका अध्यक्ष केशर बहादुर थापा, एनआरएनए क्षेत्रीय कोस्टाब्लाङ्का अध्यक्ष सुरेस बज्राचार्य, समाजका सचिव अशिम लोप्चन, युवा संयोजक बिस्णु गुरुङ, सदस्यहरू सोनल पुन र कृष्ण पुन लगायतका प्रमुख सदस्यहरू उपस्थित भएका थिए। साथै, कार्यक्रममा उपस्थितिका लागि कोस्टाब्लाङ्का भरि रहेका नेपालिहरुलाई युरोपाटी मार्फत आह्वान गरिएको थियो।
समाजका महासचिव बिजय कुवरका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ र यो एक शानदार सांगीतिक अनुभव हुने विश्वास व्यक्त गरेका छन्।
गायक यम बराल नेपाली सुगम संगीत र पार्श्व गायनका लोकप्रिय गायक हुन्, जसका गीतहरू सधैं संगीतप्रेमीहरू लाई प्रभावित पार्छन्। “नयाँ वर्ष शुभकामना धमाका” कार्यक्रमले नेपाली समुदायलाई एकजुट गरेर, नयाँ वर्षको उत्सवलाई संगीतको साथ रमाइलो बनाउनेछ।